तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा वर्षासँगै हिमपात : किसानलाई राहत

जुम्ला । जुम्लामा लामो समयपछि वर्षात सँगै उच्च भु-भागमा हिमपात भएको छ ।  लामो समयपछि भएको वर्षातले स्याउ खेती,जौ बाली तथा अन्य बालीनाली तरकारी खेती सप्रिने भन्दै जुम्ली किसान खुसी भएका हुन् ।
चैत महिनासम्म जुम्लामा वर्षात नभएर खडेरी परेको थियो । वर्षात नहुँदा अन्नबाली सुक्ने र उत्पादन घट्ने भन्दै जुम्ली किसान चिन्तित  थिए ।  बुधवार रातभरि भएको भारी वर्षासँगै उच्च भूभागमा भएको हिमपातले किसानलाई ठुलो राहत मिलेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।
उहाँले अहिलेसम्म पानी नपर्दा मार्सी धानको बेर्ना राखिएको बीउ समेत टुसाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘जौ बाली सुक्ने अवस्थामा थियो । तर अब राहत पुग्ने गरी वर्षा भएकोले कुनै समस्या नहोला । ’
चिस्यान पुगेसँगे किसानहरू अब खनजोतको तयारीमा जुटेका छन् ।
पातारासीका किसान तारा बोहोराले अब सिमी खेतीका लागि खनजोत गर्ने तयारी गरेको बताउनुभयो । पातारासीका उच्च भूभागमा बाक्लो हिउँ परेको उहाँको भनाई छ ।
जुम्लामा वैशाख महिनामा पहिलो पटक हिमपात भएको हो । जलवायु परिवर्तनका कारण हिउँदमा पर्ने हिउँ अहिले चैत वैशाखमा पर्न थालेको किसान लोक बहादुर दमाई बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button