मन्त्री आले भर्चुअल बैठकमा सहभागी
काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले अमेरिकाका राष्ट्रपति जो वाइडेनका विशेष जलवायु दूत जोन केरीद्वारा आयोजित जलवायु परिवर्तन सम्बन्धी मन्त्रीस्तरीय भर्चुअल बैठकमा सहभागी हुनुभएको छ ।
विभिन्न ५० देशका मन्त्री सहभागी रहेको उक्त जलवायु परिवर्तन सम्बन्धी भर्चुअल बैठकमा मन्त्री आलेले सन् २०१५ मा भएको पेरिस सम्झौतामा अमेरिका सरकार पुनः जोडिएकाप्रति राष्ट्रपति जो वाइडेन तथा अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
उक्त मिटिङमा नेपालका तर्फबाट मन्त्री आलेले जलवायु परिवर्तन मानव सभ्यताकै ठूलो चुनौती भएको औँल्याउँदै नेपाल यसबाट अत्यन्त जोखिममा रहेको कुरा व्यक्त गर्नुभयो ।
जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्न नेपाल पूर्णरुपले प्रतिबद्ध रहेको जनाउँदै मन्त्री आलेले पेरिस सम्झौताको प्रतिबद्धता अनुरुप नेपाल सरकारले दोस्रो राष्ट्रिय प्रतिबद्ध योगदान प्रतिवेदन २०२० पेश गरेको स्मरण गर्नुभयो ।
उहाँले उक्त कार्यक्रममा नेपाल राष्ट्रिय अनुकूलन योजनाअनुसार अगाडि बढेको उल्लेख गर्दै जलवायु परिवर्तनको दीर्घकालीन रणनीति तयार गरिरहेको समेत जानकारी गराउनुभयो । आगामी दिनमा नेपालका ७५३ वटै स्थानीय तहमा लैङ्गिक उत्तरदायी एवं जलवायु समानुकूलित अनुकूलन योजना लागू गर्ने तयारीमा मन्त्री आलेले सो कार्यक्रममा जानकारी गराउनुभयो ।
मन्त्री आलेले नेपालले वातावरणमैत्री सवारी साधन, न्यून कार्बन उत्सर्जन , रेडप्लस लगायतका कार्यक्रममा लगानी तथा जलवायुमैत्री कृषि प्रविधिमा जोड दिएको र आगामी दिनमा यसलाई थप प्रोत्साहन गर्ने बताउनुभयो ।
नेपालजस्तो मुलुकले जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्न धेरै काम गरेको र नीतिगत व्यवस्थामा अग्रपङ्क्तिमा भए पनि योजनाको कार्यान्वयनमा आवश्यक मात्रामा वित्त अभावका कारण समस्या झेल्नुपरेको उहाँको भनाइ थियो ।
उहाँले नेपालले वित्त अभावका कारण झेल्नुपरेका समस्याका विषयको सम्बोधन गर्नका लागि अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वानसमेत गर्नुभयो । मन्त्री आलेले आगामी जलवायु परिर्वतन सम्बन्धी पक्ष राष्ट्रको २६ औँ सम्मेलनमा आजको छलफल तथा अन्तर्क्रिया कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने आशा राख्दै अमेरिकी सरकारलाई मन्त्रीस्तरीय सम्मेलनका लागि धन्यवादसमेत ज्ञापन गर्नुभयो ।









प्रतिक्रिया राख्नुहोस्