मलेसिया र नेदरल्यान्ड्सको खेल बराबरीसँगै नेपाल फाइनलमा
काठमाडौँ । त्रिकोणात्मक टी–२० आई सिरिजमा मलेसिया र नेदरल्यान्ड्सको खेल बराबरीसँगै नेपाल फाइनलमा पुगेको छ ।
वर्षाले प्रभावित खेलमा मलेसियालाई जितको लागि १० ओभरमा ९२ रन बनाउनु पर्ने थियो । तर मलेसियाले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै ९१ रन बनाएपछि खेल बराबरी भएको थियो । कट अफ टाइमको कारण (समय सकिँदा) सुपर ओभर नभएपछि दुवै टोलीले अङ्क बाँडेपछि नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुगेका हुन् ।
अन्तिम १ बलमा दुई रन चाहिएको अवस्थामा मलेसियाले १ रन मात्र बटुलेपछि बराबरी भएको थियो । जितको लागि मलेसियालाई अन्तिम ६ बलमा ७ रन चाहिएको अवस्थामा भिभियन किंगमाले ६ रन दिँदै नेदरल्यान्ड्सको फाइनल यात्रा पक्का गराए । अन्तिम २ बलमा दुई रन चाहिएको अवस्थामा अमिनुद्दीन राम्ली एलबिडब्लू आउट हुन पुगेका थिए ।
जितको लागि १३ ओभरमा १ सय २० रनको विजयी लक्ष्य पछ्याउने क्रममा ६ ओभरमा मलेसियाले ५६–० को अवस्थामा वर्षा भएपछि खेल १० ओभरमा झारिएको थियो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनायो । १०.२ ओभरमा ३ विकेट गुमाउँदा ६८ रन बनाउँदा खेल वर्षाको कारण रोकिएको थियो । त्यसपछि डेढ घण्टा खेल रोकिँदा ओभर घटाउँदै १३ मा झारिएको थियो ।
नेपाल ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अं कका साथ दोस्रो स्थानमा रह्यो । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरीसहित ५ अं कका साथ शीर्ष स्थानमा छ । मलेसियाको ३ खेलमा १ अङ्क छ ।
लिग चरणको अन्तिम खेलमा बिहीबार नेपाल र मलेसिया खेल्ने छन् । फाइनल वैशाख ११ मा हुने छ ।
जारी त्रिकोणात्मक टी २० सिरिजमा उत्कृष्ट लयमा देखिएका कुशल भुर्तेल विश्व टी २० वरियतामा पहिलो पटक समावेश भएका छन् ।
लगातार तीन खेलमा तीन अर्ध शतक बनाएर विश्व कीर्तिमान बनाएका कुशल आइसिसीले जारी गरेको टी २० को नयाँ वरियतामा शीर्ष १०० मा पर्न सफल भएका छन् । कुशल नयाँ वरियतामा ९३ औँ स्थानमा रहन सफल भएका छन् । उनको रेटिङ ३ सय ५९ रहेको छ ।
यसका साथै कुशल सन् २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पनि परेका छन् । कुशलले तीन खेलमा १ सय ८५ रन बनाएका छन् । जसमा तीन अर्ध शतक रहेका छन् ।
नयाँ वरियतामा पारस ८३ औँ स्थानमा पुगेका छन् । उनी एकै पटक १० स्थान तल झरेका छन् । पारसले चोटका कारण त्रिकोणात्मक टी २० सिरिज गुमाएका थिए । जसका कारण पनि उनको बरिएता खस्किएको हो ।
बलिङमा सन्दीप लामिछाने ७७ औँ स्थानमा उक्लिएका छन् । उनले वरियतामा सात स्थान सुधार गरेका छन् । टी २० सिरिजमा सन्दीपले तीन खेलमा आठ विकेट लिएका छन् । जसमा उनले नेदरल्याण्ड्सविरुद्धको चार विकेट लिएका थिए ।
नेपालका लागि टी २० मा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा सन्दीप रहेका छन् । उनले कुल ४२ विकेट लिएका छन् । नेदरल्याण्ड्ससँगको खेलपछि करण केसीलाई उछिन्दै उनी शीर्ष स्थानमा उक्लिएका हुन ।








प्रतिक्रिया राख्नुहोस्