मास्क अनिवार्य गर्दै सुर्खेत प्रशासन
सुर्खेत । सुर्खेतमा दोस्रो चरणको कोरोना सङ्क्रमणको जोखिम बढेपछि मास्क अनिवार्य गरिएको छ ।
जिल्ला कोभिड—१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले मङ्गलवार गठन गरेको अनुगमन समितिले केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टसहितको अनुगमन टोलीले स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन थालेको हो ।
त्यस क्रममा वीरेन्द्रनगर बजार क्षेत्रका पसल पुगी विक्रेता तथा ग्राहक, पैदल यात्रु, मोटरसाइकलमा सवार यात्रुलाई मास्क लगाउन अनुगमन टोलीले निर्देशन दिएको छ ।
अनुगमन टोलीका संयोजक, सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले मास्क अनिवार्य प्रयोग गर्दा कोरोनाको जोखिम कम हुने भएकाले मास्क लगाउन आग्रह गर्दै स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न आग्रह गर्नुभयो ।
स्विमिङ पुलको अनुगमन
टोलीले सुर्खेतस्थित ठूला होटेलका स्विमिङ पुलको पनि अनुगमन गरेको छ । शुभ होटेल, ट्रकोमा रिसोर्ट र सिद्धार्थ होटेलको स्विमिङ पुल अनुगमन गरिएको छ । ती होटलहरुले सोमवारदेखि नै स्विमिङ पुलहरू बन्द गरिसकेको जानकारी गराएका छन् ।
खोप लगाउने कार्यको अनुगमन
टोलीले प्रदेश अस्पतालमा सञ्चालन गरिएको कोरोनाको दोस्रो डोजको खोप लगाउने कार्यको पनि अनुगमन गरेको छ । प्रदेश अस्पतालमा मङ्गलवार ६ सय ४५ जनाले कोरोनाको दोस्रो डोजको खोप लगाएको र बुधवार पनि त्यतिकै सङ्ख्यामा पुग्ने जनाइएको छ ।
अनुगमनमा प्रजिअ रिजालसहित प्रहरी प्रमुख राजेन्द्रप्रसाद भट्ट, सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक दिग्विजय सुवेदी, जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका कोरोना फोलक पर्सन उदय बिसी, पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष ललित बसेल संलग्न हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्