मलेसियाबाट फर्केका गोविन्दबहादुर कृषि पेशामा रमाउँदै

काठमाडौँ । वैदेशिक रोजगारबाट फर्किई आफ्नो बारी–बगैँचाबाटै सुन्दर भविष्य बनाउनु भएका धनकुटाका गोविन्द बहादुर बस्नेतको उद्यम कथा :
२०५९ देखि २०६४ सालसम्म मलेसियामा काम गरी फर्कनुभएका धनकुटा चौबिसेका गोविन्द बहादुर बस्नेत अहिले आफ्नै खेतबारी र कान्लाहरूमा हराभरा पारेपछि आफ्ना छोराहरू पनि अन्त काम खोज्न जानु पर्दैन भन्ने कुरामा ढुक्क हुनुहुन्छ ।
त्यसो त विदेश जानु अघि नै पनि फलफूललगायत अनेक कृषि उद्यममा अभियन्ता झैँ गाउँमै कृषि अभियान चलाउन सक्रिय बस्नेतको बगैँचाबाट अब मनग्गे आम्दानी हुन थालेको छ । ४० रुख लिची, ३ रोपनीमा आँप र रुद्राक्षदेखि लिएर एभोकाडो सम्मको बगैँचा लगाउनु भएका उहाँले गत साल ९२ हजार रुपैयाँको लिची मात्र बेचेको बताउनुहुन्छ ।

वैदेशिक रोजगारको अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ–“विडम्बना के लाग्यो भने ८ घण्टादेखि १२ घण्टासम्म उभिएर त्यहाँको फ्याक्ट्रीमा आलमुनियम काट्नुपर्ने अवस्था र उता छोराछोरी छोडेर आएको हुँदा उनीहरूको पढाई पो बिग्रने हो कि र आफूले जस्तै मजदुरी नै गर्नु पर्ने पो हो की भनेर साह्रै पिर पर्यो । म उता हुँदै छोरा र छोरीको बिहे पनि भयो । बिहेको भिडियो सिडी पठाइदिए । बिहेको भिडियो हेरेर मन बुझाउनु पर्यो । भिडियोमा आफ्नो बारी बगैँचा समेत देख्दा मन भक्कानियो र त्यसै बेला आफ्नै थातथलो मै कृषि क्रान्ति गर्छु भनेर मनमनै सङ्कल्प गरेर त्यसपछि फर्किएको हुँ ।”
“त्यो बेला मैले खेतभरी केरा रोपेको देख्दा अनौठो माने कतिले त ! तपाइहरूका गोजीका पैसा झिकेर छोराछोरी पढाउनु पर्नेछ भन्थेँ ठट्टा गरेर । नभन्दै पछि तिथि, श्राद्ध, दसैँ र चाडबाडका बेला मेरो बारीमा केरा खोज्दै आउनुभयो उहाँहरू नै । उहाँहरूलाई मैले घरीका घरी केरा बेचेँ, उहाँहरू पुराना कुरा सम्झेर छक्क पर्नुभयो ।”
सुरु देखिनै केराको बगान गाउँ भरी लगाउन सबैलाई उत्प्रेरित गर्ने बस्नेत बस्तुभाउ जथाभाबी नछोड भन्दा आफू त्यो बेला छुच्चो जस्तो हुन पुगेको पनि सम्झनुहुन्छ । ५४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षमा उठ्दा मात्र ३ भोटले हारेको बताउने बस्नेत भन्नुहुन्छ–“ छुच्चो बस्नेत वडाध्यक्षमा उठ्छ कसले पो भोट दिन्छ भन्थे ३ भोटले हारे ।”
अरूका गोजीको पैसा झिक्न कसरी सफल भएँ त भनेर आफ्नो रमाइलो अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ–“त्यो बेला मैले खेतभरी केरा रोपेको देख्दा अनौठो माने कतिले त ! तपाइहरूका गोजीका पैसा झिकेर छोराछोरी पढाउनु पर्नेछ भन्थेँ ठट्टा गरेर । नभन्दै पछि तिथि, श्राद्ध, दसैँ र चाडबाडका बेला मेरो बारीमा केरा खोज्दै आउनुभयो उहाँहरू नै । उहाँहरूलाई मैले घरीका घरी केरा बेचेँ, उहाँहरू पुराना कुरा सम्झेर छक्क पर्नुभयो ।”

दिगो ढङ्गले गरिएका फलफूल खेतीलाई पेन्सन पाउन गरिएको लगानी सरह बुझ्नु भएको छ बस्नेतले । दही दूध बेच्ने, केरा खेती गर्ने, माछा पालन, बाख्रा पालनदेखि अहिले राँगा पालनसम्म आइपुग्नुभएका बस्नेत आफू गोठालो नै रहे पनि छोराछोरीलाई कृषि व्यवसायी बनाउन फर्म दर्ता गरेर प्यान नं. लिएको बताउनुहुन्छ । फलफूल बगैँचामा लगातार खट्टिरहनु नपर्ने भएकोले कुखुरादेखि बाख्रा र राँगा पालनसम्म भ्याउनुभएको छ उहाँले ।
आफ्नो व्यावसायिक मोडहरूलाई उहाँ यसरी सम्झनुहुन्छ–“२०५९ सालभन्दा अघि नै स्कुलमा आमसभा हुँदा खेरी कृषि गरौँ भने मैले । अनि एक्लै सिराहा गएर त्यो बेला १३ हजार ७० रुपैयाँका लिचीका बिरुवा ल्याएँ, आफूले रोपेँ र गाँउमा पनि वितरण गरे । फलफूलबाट अघि बढ्दै आएपछि २०७२ सालमा फलामटारको उकालोमा सानो झुप्रो बनाए । अनि त्यहाँबाट यसो हेरविचार गरे अनि तल माछा पोखरी खनेर माछा पालेँ । माछाको आम्दानीले कुखुरा पालेँ । २०७४ सालमा चाहिँ कुखुरा, गाई–भैँसी पाल्दै गएपछि गोठालो मात्र कति हुनु भन्दै व्यावसायिक रुपमै गर्नलाई खप्तड बहुउद्देश्यीय कृषि फर्म दर्ता गरे । त्यति हुँदै गएपछि अब उमेर अनुसार यो भीर पाखा कुद्न नसकिने रहेछ जस्तो लागेर राँगा पाल्छु भनेर सहकारीबाट ५ लाख ऋण समेत गरेर अहिले २४ वटा राँगा पालेको छु ।”

साउदी गएर फर्किएको छोरा र अहिले जागिर खाने छोराले पछि यो बहुउद्देश्यीय कृषि फर्म सम्हाल्ने कुरामा ढुक्क हुनुहुन्छ उहाँ । उहाँ भन्नुहुन्छ–“छोरालाई सम्झाएको छु राहदानी बोकेर आइराथ्यो, न जा नानी विदेशको बनीले धनी हुँदैन, क्षणिक हो । जहाँ आफ्नै पाखा छ त्यहीँ लाखा छ । आफ्नै माटोमा परेको श्रम खेर जाँदैन । गरे उताभन्दा धेरै हुने रछ भनेर सम्झाए । कान्छो चाहिँ नेपाल प्रहरीमा छ, जेठो कृषि नै गर्छ,। बाउले गरेको कृषि कर्म एकदम दिगो र ठिक रहेछ भनेर कान्छो पनि खुसी छ । उसले कृषि उद्यमबारे १–२ ठाउँमा अध्ययन पनि गरेछ । पेन्सन भएपछि यो बारी चैँ मेरो हो है भन्दैथ्यो । दाजुभाइ अंशबन्डा गर्दैथे । तँ आउँदा म कहाँ पुग्छु होला भने मैले । जे होस् छोराहरू मेरा कृषि फर्मको यो कृतिबाट बढो खुसी छन् ।”

गोविन्द बहादुर बस्नेतले जस्तै सुझबुझका साथ आफ्नै खेतबारी पाखामा ठाउँ अनुसारको कृषि उद्यम गदा भविष्य सम्मका लागि नियमित आम्दानी आफ्नै उपेक्षित भइरहेको जग्गाहरूबाटै लिन सकिने रहेछ भन्ने करा बुझ्न सकिन्छ । सामान्यता नगदका लागि विदेश तिरको हैरानी व्यहोर्नुभन्दा त्यही विदेश जाने लगानीसहित यतै गरे आफ्नै मन र माटोमा हरियाली भर्न सकिने कुरा उहाँको अनुभव अनुसार बुझ्न सकिन्छ ।








प्रतिक्रिया राख्नुहोस्