कञ्चनपुर जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

कञ्चनपुर । कञ्चनपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
बुधवार जिल्ला समन्वय समिति कञ्चनपुरको सभा हलमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले कञ्चनपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुवेदीले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा लक्षित उमेर समूहका बालबालिकाहरूलाई मापदण्ड अनुसार खोपको मात्रा दिइएकोले क्रमशः जिल्लागत रूपमा घोषणा गर्दै यही बैशाख २० देखि २५ गतेभित्र सुदूरपश्चिम प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने तयारी भइरहेको जानकारी दिनुभयो ।

मन्त्री सुवेदी सहित सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्यद्वय प्रकाश रावल र लालबहादुर खड्का, सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी तथा विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा गर्नुभएको छ । त्यस्तै, यस अभियानमा क्रियाशील स्वास्थ्यकर्मी, सम्बन्धित क्षेत्रका कर्मचारी, जनप्रतिनिधिहरू, पत्रकार, आमा समूह, विभिन्न सङ्घसंस्था तथा आमजनसमुदायलाई धन्यवाद ज्ञापन गरिएको छ ।
घोषणा सभाका सभाध्यक्ष एवं जिल्ला पूर्ण खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरू तामाङले कञ्चनपुर जिल्लाका सबै स्थानीय तहहरूमा स्वास्थ्यकर्मीहरू र महिला स्वास्थ्य स्वयंसेविकाहरूको संयुक्त टोली परिचालन भई घरधुरी सर्वेक्षण गरिएको बताउनु भयो । त्यससँगै खोप समन्वय समितिले समेत अनुगमन गरी वडा हुँदै ९ वटै स्थानीय तहहरूलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको उल्लेख गर्नुभयो । कञ्चनपुर जिल्लालाई समेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिए पनि घोषणालाई सार्थक र दिगो बनाउन सम्बन्धित सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्