तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

सांकेतिक तस्बिर
कञ्चनपुर  । मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगर बस्ने महेश बोहरा (राजु) को मृत्यु भएको छ ।
सीमावर्ती भारतीय बजार सम्पूर्ण नगरबाट घर फर्कने क्रममा शनिबार साँझ हावाहुरीले बाटोमा खसेको रूखमा ठोक्किएर से ४ प ९९२५ नम्बरको मोटरसाइकल दुर्घटना भएको बताइएको छ ।
४२ वर्षीय बोहराको घटनास्थलमै मृत्यु भएको हो भने सोही मोटरसाइकलमा सवार बेलौरी नगरपालिका ६ हात्तीबाेझा बस्ने ३० वर्षीय शिवदत्त राना घाइते हुनुभएको भारतीय सुरक्षाकर्मीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलौरीमा प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिनुभयो ।
घाइते रानालाई नेपालमै ल्याई उपचार भइरहेको बताइएको छ । प्रहरीका अनुसार, मृतक बोहराको शवलाई भारतको लखिमपुरमा पाेष्टमार्टम गरी आइतबार दिउँसो परिवारजनलाई बुझाइएको छ ।
मृतक बोहरा कञ्चनपुरको बेलौरीस्थित महाकाली माविमा अध्यापन गराउँदै आउनु भएको थियो । उहाँका ज्येष्ठ दाजु प्रहरी निरीक्षक केशव बोहराको २०७२ सालमा टिकापुरमा भएको थरुहट थारूवान आन्दोलनमा हत्या गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button