तपाईँ सुन्दै हुनुहुन्छः

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने स्थानीयलाई प्रहरीले हटायो


रुपन्देही । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको १ सय ११ विगाह जग्गा कब्जा गर्नका लागि केही स्थानीयको सक्रियतामा चलखेल शुरु भएको छ ।

सनिवार सांझदेखि सयौंको संख्यामा आएर कब्जा गरेकाहरुलाई आइतवार बिहान प्रहरीले लखेटेको थियो । मोतिपुर औद्योगिक करिडोरको जग्गा कब्जा गरेर बसेकाहरुलाई प्रहरीले हटाएको हो ।

बुटवलको नयाँगाउँ, बेलवास,गोलपार्क, बुद्धनगर, मजुवा, दिपनगर तिलोत्तमाको सिमानगरÞ,डिंगरनगरलगायतका ठाउँबाट आएकाहरुले मोतिपुर औधोगिक करिडोरको बी ब्लकको जग्गामा चुना र डोरीले घेरा हालेर प्लटिङ गरिएको छ ।
स्थानीय प्रहरीले जग्गा कब्जा गर्न आएकाहरुबाट नाम दर्ताका लागि तयार पारिएको रजिष्टर नियन्त्रणमा लिएको जनाएको छ ।
शनिवार बिहानदेखि आएका स्थानीयलाई प्रशासनको सहयोगमा प्रहरीले दिउँसो २ बजेसम्म लगाएर हटाएपनि गएरातिदेखि पुनः सयौंको संख्यामा पुगेका थिए ।

बुटवल उपमहानगपालिकाको वडा नं १७ का वडाध्यक्ष सन्तबहादुर रानाले आफ्नो क्षेत्रमा रहेको १ सय ११ बिगाह जग्गा कब्जा गर्न केही राजनीतिक दलको सक्रियतामा ठूलो समूह लागेको बताउनुभो ।

उहांले सो क्षेत्रमा लाइन लगाएर, रसी टाँगेर प्लटिङको नमुनाजस्तै बनाइएको बताउँदै प्रहरी प्रशासनको सहकार्यमा टहरा बनाउन नदिइने र कब्जा गर्न नदिइने बताउनुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मोतिपुर औद्योगिक क्षेत्रजस्तो महत्वपूर्ण क्षेत्रलाई सबै मिलेर अगाडि बढाउनुपर्ने बताउँदै सरकारी जग्गालाई कुनैपनि हालतमा कब्जा गर्न नदिइने बताउनुभयो ।

बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कार्यालय प्रमुख निमेश अधिकारीले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेका जानकारी पाएपछि प्रहरी प्रशासनको सहकार्यमा हटाउने प्रयास भइरहेको बताउनुभयो ।

फागुन २१ गते औद्योगिक क्षेत्रको शिलान्यासका क्रममा स्थानीयले विवाद निकालेपछि अर्थमन्त्री विष्णु पौडेल तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सहभागी कार्यक्रम विथोल्थे प्रयास भएको थियो । तर औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड र मोतिपुर औद्योगिक करिडोर प्रभावित स्थानीयको एउटा समूहबीच मोतिपुर औद्योगिक करिडोर निर्माणलाई निर्वाध अगाडि बढाउने सहमति भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button