तपाईँ सुन्दै हुनुहुन्छः

भम्केनी धाममा सौर्य बत्ती जडान  

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित भम्केनी धाममा सौर्य बत्ती जडान गरिएको छ ।

भीमदत्त नगरपालिका कार्यालय र वडा कार्यालयले संयुक्त रुपमा सौर्य बत्ती जडान गरेको हो ।

सौर्य बत्ती जडानपछि अहिले भम्केनी धाम झलमल भएको छ । यसअघि उज्यालो नहुँदा भक्तजनहरूलाई राति समस्या हुने गरेको थियो ।

महाकाली शारदा पीठ जगद्गुरु आश्रम भम्केनी धामको आग्रहमा २० वटा सौर्य बत्ती जडान गरिएको छ ।

भीमदत्त नगरपालिका–८ का वडा अध्यक्ष ध्वज बहादुर विष्टले भम्केनी धामको धार्मिक पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएर सौर्य बत्ती जडान गरेको बताउनुभयो ।

चुरे फेदको यस धाममा राति उज्यालो नहुँदा समान चोरी हुने डर उब्जिएको थियो । अहिले सौर्य बत्ती जडान भएर झिलमिल भएपछि चोरी हुने सम्भावना हटेको भक्तजनहरू बताउँछन् ।

जगद्गुरु बाल सन्त मोहन शरण देवाचार्यले चार महिनासम्म मौन व्रत बसेर भम्केनीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा पहिचान गराउनुभएको  थियो ।

जगद्गुरुको पहलमा अहिले धाममा ७५ फिट अग्लो अष्ट धातुको मूर्ति निर्माण कार्य अघि बढेको छ ।

अष्ट धातुको मूर्ति निर्माणका लागि भीमदत्त नगरपालिकाले १ करोड सहयोग गर्ने प्रतिबद्धता गरेको छ । त्यसमध्ये हालसम्म ५० लाख सहयोग रकम मूर्ति निर्माणका लागि उपलब्ध भइसकेको छ । भम्केनी धामसम्म बाटो निर्माण गरी आवागमन सहज बनाइएको छ । सुदूरपश्चिमका सबै जिल्लाको प्रतिनिधित्व हुने गरी कुण्ड निर्माण गरिएका छन् ।

स्थानीयका अनुसार पौराणिक कालमा भकभक गरी आउने पानीका आधारमा यसको नाम भम्केनी राखिएको हो । भम्केनीका ६ कुण्डमध्ये ५ पाण्डप र एक द्रोपतिको रहेको किंवदन्ती छ । भीमले द्रोपतीलाई नुहाउन कुण्ड बनाएको स्थानीय बताउँछन् ।

भम्केनीधाम प्रचारमा आएपछि बर्षेनी पूर्वाधार निर्माणका कार्यलाई प्राथमिकता दिइएको छ । अहिले महेन्द्रनगरदेखि भम्केनी धामसम्म सडक कालोपत्रे गरिएको छ ।

महाकाली शारदा पीठ जगद्गुरु आश्रम भम्केनी धामका अध्यक्ष वीर बहादुर सिंहले धामको विकासका लागि गुरु योजना निर्माण गरिएको बताउनु भएको छ।

६ दशमलव २ हेक्टरमा फैलिएको धामलाई पुरातात्त्विक विभागको धार्मिक पर्यटकीय क्षेत्रमा समावेश गराउन पहल गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button