स्विस राजदूत मुन्धुम ट्रेल पदमार्गको अवलोकनमा

भोजपुर । नेपाल सरकारले निर्धारण गरेको १ सय वटा पर्यटकीय गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकनका लागि स्विस राजदूत एलिजाबेथ भोन क्यापलर पूर्वका जिल्लाहरूमा आउनु भएको छ ।
खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको रमणीय स्थल चखेवा भन्ज्याङ, मैयुङडाँडा, हाँस पोखरी, सात दोबाटो, रावाधाप, साल्पापोखरी, सिलिचुङडाँडा लगायतको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले २०७५ सालमा मुन्धुम ट्रेलको अवधारणा अघि सारिएको हो ।
पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको रमणीय स्थलको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माणको काम सुरु गरिएको मुन्धुम ट्रेल अवलोकन गर्न स्विस राजदूत एलिजाबेथ सहितको टोली भोजपुरका साथै अन्य छिमेकी जिल्ला आइपुग्नु भएको छ ।
भोजपुर आइपुग्नु भएका स्विस राजदूतलाई भोजपुरको टेम्के मैयुम गाउँपालिकाले चखेवामा स्वागत गर्दै पदमार्ग र पर्यटन प्रवर्धनका विषयमा छलफल गरेको छ ।
स्विस राजदूतसँग समग्र विकास प्रक्रियाको अवस्थाका साथै विशेष गरी पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताउनुभयो ।
सो क्रममा स्विस राजदूतले निर्माणाधीन अवस्थामा रहेको मुन्धुम ट्रेलका लागि स्विस सरकारको तर्फबाट आवश्यक सहयोग रहिरहने बताउनु भएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो । भोजपुर र खोटाङको पर्यटन विकासमा निर्माणाधीन मुन्धुम ट्रेलले ठुलो सहयोग पुग्ने गाउँपालिका अध्यक्ष राईको भनाई रहेको छ ।
मुन्धुम ट्रेल नेपाल सरकारले निर्धारण गरेको १ सय वटा पर्यटकीय गन्तव्य मध्ये सबैभन्दा पहिलो प्राथमिकतामा परेको
छ ।
यस वर्ष उक्त पदमार्गको दायाँबायाँ चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्नेलगायतका आधारभूत पूर्वाधारको काम भइरहेको छ ।
गुराँस, चाँप, कटुस तथा लोक्ताको घना जङ्गल अवलोकन गर्न पाइने मुन्धुम पदयात्रामा डेढ÷दुई घण्टाको दूरीमा परम्परागत गाउँघर भेटिनु अर्को विशेषता रहेको छ ।
पदमार्गमा पर्ने अधिकांश बस्ती किराँत समुदायको भएको तथा किराँतीको मौखिक ग्रन्थ ‘मुन्धुम’मा किराँती जीवनशैली तथा संस्कार/संस्कृतिका बारेमा वर्णन हुने भएकाले पदमार्गको नाम मुन्धुम राखिएको हो ।
नेपाल सरकारको पर्यटकीय गन्तव्यमा पर्न सफल किरात संस्कृतिमा आधारित मुन्दुम पदमार्गको प्रचार प्रसार तथा पर्वद्धनका लागि आगामी वैशाख १८ गतेबाट चौथो मुन्दुम ट्रेल रेसको समेत आयोजना गरिने भएको छ ।
तावाभञ्ज्याङदेखि सुम्लिखासम्म सञ्चालन हुने ट्रेलरेसको आयोजना रिमाचुङ एजुकेशन एण्ड स्र्पोट एकेडेमी भोजपुरले गरेको हो ।
सहभागिता भएर प्रथम, दोस्रो, तेस्रो र चौथो हुने महिला पुरुष धावकले क्रमशः नगद २९ हजार ९ सय ९९, नगद २५ हजार ५ सय ५५, नगद १९ हजार ९ सय ९९ र नगद १५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्