तपाईँ सुन्दै हुनुहुन्छः

दुर्गममा खाद्यान्न अभाव टार्न हवाई ढुवानी

सुर्खेत । सरकारले दोस्रो चरणको कोरोना कहरलाई मध्यनजर गर्दै दुर्गममा खाद्यान्न अभाव हुन नदिन हवाईमार्फत ढुवानीलाई तीव्रता दिएको छ ।
विशेष गरी कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी एवं हिमाली जिल्लामा आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने भएपछि सरकारले अनुदानको खाद्यान्न ढुवानीलाई प्राथमिकता दिएको हो । सरकारले सुर्खेतबाट हुम्ला, डोल्पा, बाजुरा जिल्लाहरूमा हवाई जहाजबाट नियमित खाद्यान्न ढुवानीको व्यवस्था मिलाएको छ ।
चर्को खडेरीका बिच जेठमा पाक्ने गहुँ बाली अपेक्षाकृत रुपमा नफल्ने देखिएपछि सरकारले राष्ट्रिय सडक सञ्जालले नछोएको हुम्ला जिल्लामा खाद्यान्न ढुवानीलाई प्राथमिकता दिएको छ ।
पहिलो चरणमै हुम्लाका लागि ७ हजार क्विन्टल चामलको कोटा स्वीकृत गरिएको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले जनाएको छ । चालु आर्थिक वर्ष २०७७–०७८ का लागि जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेबमोजिम उक्त परिणामको चामल सरकारले स्वीकृत गरेको हो ।
कम्पनीका हुम्ला शाखाका नायव सुब्बा भरत अधिकारीले स्वीकृत कोटा परिमाणको चामल कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतबाट निजी विमानबाट छिट्टै ढुवानी हुने जानकारी दिनुभयो ।
सीता एयरका सिमकोट स्टेसन सहायक इन्चार्ज सूर्य लामाले व्यापार कम्पनीसँग सहमति भइसकेकाले अबको केही दिनमै हुम्लाका लागि नियमित खाद्यान्न ढुवानी गर्ने तयारी भइसकेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button