तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार महासङ्घ, रेडियो नेपाल प्रतिष्ठानः नयाँ नेतृत्वलाई पदभार हस्तान्तरण

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ रेडियो नेपाल प्रतिष्ठान शाखाले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा आज शुभकामना आदानप्रदान तथा महासङ्घको नयाँ नेतृत्वलाई बधाई ज्ञापन गरेको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एव रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष हरिप्रसाद बस्यालले रेडियो नेपाललाई आफ्नो क्षमता अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक बनेर अगाडी बढ्न आग्रह गर्नुभयो ।
उहाँले समाजलाई सिर्जनात्मक बनाउने र देशलाई समृद्धितर्फ लैजाने खालका सामग्री प्रसारणमा रेडियो नेपालले जोड दिनुपर्ने पनि बताउनुभयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालको प्रसारण पहुँच शतप्रतिशत भू–भाग र जनसङ्ख्यामा पुर्‍याउने गरी काम भइरहेको बताउनुभयो ।
कार्यक्रममा रेडियो प्रसार सेवा विकास समितिका सदस्य टीका भण्डारीले व्यक्तिको भन्दा पनि संस्थाको उन्नति, प्रगति र समृद्धिमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित केन्द्रिय अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रता र श्रमको उचित सम्मानप्रति महासङ्घ सधैँ प्रतिबद्ध रहेको भन्दै पत्रकारको व्यवसायीकरण र क्षमता अभिवृद्धिका लागि सदैव लाग्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी, पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष दिपकजंग हमाल, राष्ट्रिय समाचार समिति प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाईँ लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रेडियो नेपाल प्रतिष्ठान शाखाको नवनिर्वाचित कार्य समितिलाई पदभार हस्तान्तरण समेत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button