तपाईँ सुन्दै हुनुहुन्छः

बन्दैछ अयोध्याधाम : रामनवमीमा मूर्ति अनावरण हुने

चितवन । चितवन जिल्लाको माडी नगरपालिकाको अयोध्याधाममा यही रामनवमीमा राम,सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्तिहरू स्थापना गरिँदै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका मूर्तिहरू आउँदो बैशाख ८ गते भव्य कार्यक्रम गरेर स्थापना गरिन लागिएको हो ।
मूर्ति स्थापना गर्ने कार्यका लागि अहिले अयोध्याधाम निर्माण र कार्यक्रम व्यवस्थापनको कार्यलाई तीव्र पारिएको छ ।
यसका लागि माडीका राजनीतिक दलहरूको सर्वदलीय सहमति र सामाजिक संघ संस्थाहरूको समन्वयमा तयारीका कार्यहरू तीव्र रूपमा अगाडि बढिरहेको माडी नगर पालिकाका प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष शिवहरि सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्नको लागि सहमतिबाट विभिन्न उपसमिति निर्माण गरिएको छ । निर्माण , प्रचार प्रसार, अतिथि सत्कार, मञ्च व्यवस्थापन, पूजा व्यवस्थापन, झाँकी व्यवस्थापन लगायत ११ वटा उपसमितिहरू मार्फत कामहरू भइरहेको अयोध्याधाम व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुसालले जानकारी दिनुभयो ।
अयोध्याधाममा निर्माणका कार्यहरू अगाडि बढेपछि नगद तथा जिन्सी सहयोगहरू आउन थालेका छन् । सहयोगलाई व्यवस्थित गर्नको लागि ग्लोबल आईएमई बैङ्कमा अयोध्याधाम व्यवस्थापन समितिको नामबाट खाता सञ्चालन भएको अयोध्याधाम व्यवस्थापन प्रचार प्रसार उप समितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।
बैशाख ८ गतेको कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्नको लागि माडीका विभिन्न सामाजिक संघ संस्थाहरुलाई कसरी समन्वयात्मक रुपमा परिचालन गर्ने भन्ने सम्बन्धमा विभिन्न छलफलहरू भइरहेका छन् । निर्माण कार्य तीव्र रुपमा अगाडि बढेपछि अवलोकन गर्न आउनेहरूको पनि चहल पहल बढेको छ । देशकै गौरवको विषय र समग्र माडी विकाससँग सम्बन्धित विषय भएको हुनाले अयोध्याधाम निर्माण कार्यमा सहयोग गर्न अयोध्याधाम व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुसालले सबैलाई आग्रह गर्नुभयो ।
माडी अयोध्याधाममा धार्मिक कीर्तन बैशाख ७ गतेदेखि नै हुने र बैशाख ८ गते धार्मिक पुरोहितहरूको सहभागितामा र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा मूर्तिहरू अनावरण गर्ने कार्य तालिका सार्वजनिक भएको छ । त्यसैदिन शोभायात्रा र विभिन्न झाँकीहरू प्रदर्शन गरिने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button