तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति चुरे–तराई संरक्षण विकास समितिको अध्यक्षमा पौडेल र विज्ञापन बोर्डमा हुमागाईँ नियुक्त

काठमाडौँ । सरकारले विदेशमा बस्ने नेपाली समुदायलाई माध्यमिक तहसम्म नेपाली पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गर्न चाहेमा सर्तसहित अनुमति दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले विदेशमा बस्ने नेपाली समुदायले नेपाली पाठ्यक्रममा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न चाहेमा सम्बन्धित देशको कानुनअनुसार दर्ता गरी सञ्चालन गरेका विद्यालयमा माध्यमिक तहसम्मको पठनपाठन सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिनुभयो ।

यसै गरी मन्त्रिपरिषद् बैठकले कीर्तिपुरस्थित त्रिभुव विश्वविद्यालयको स्वामित्वमा रहेको ६० रोपनी जग्गा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत नेफ्रोलोजी, यरोलोजी लगायतका जटिल रोगको मेडिकल सुपरस्पेसियालिटी केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र निर्माणका लागि त्रिभुवन विश्वविद्यालयलाई पुनः प्रयोग गर्न स्वीकृत दिने निर्णय गरिएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले शान्तिपूर्ण आन्दोलनका क्रममा शहादत प्राप्त गरेका झापा कनकाई नगरपालिका वडा नम्बर ३ का डिल्ली गौतम र झापा कचनकवल गाउँपालिका वडा नम्बर ६ का लक्ष्मी पाण्डेलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले नेपाल र ओमान सरकारबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, डोल्पा जिल्ला छार्का ताङसोङ गाउँपालिकाको केन्द्र वडा नम्बर  ३ को ढाँड गाउँबाट हेरफेर गरी वडा नम्बर ४ को कागकोटमा कायम गर्न र बाँके जिल्ला खजुरा गाउँपालिकाको केन्द्र वडा नम्बर ४ को बागेश्वरीबाट हेरफेर गरी वडा नम्बर ३ को वाग्मती नगरमा कायम गर्न र रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाको नाम दोरम्बा शैंलुङ गाउँपालिका कायम गर्न स्वीकृति दिएको छ ।

नेपाल भारत रेल सेवा सम्झौता २००४ मा संशोधन गर्ने गरी तयारी गरिएको Letter of Exchange को मस्यौदा स्वीकृत गर्ने र नेपालको तर्फबाट हस्ताक्षर गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गरेको सरकारका प्रवक्ता मन्त्री गुरुङले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रपति चुरे–तराई संरक्षण विकास समितिको अध्यक्षमा पर्वतका डा. किरण पौडेल र सदस्यहरूमा कमला ओली सिवाकोटी, शशिकुमार शर्मा, सुमिता ढकाल र भेषराज आचार्यलाई नियुक्त गर्ने र विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईँलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button