१ महिनादेखि खानेपानीको हाहाकार हुँदा आम उपभोक्ता मर्कामा
बैतडी । मध्य पहाडी लोक मार्गको नयाँ सहरको रुपमा विकास हुन लागेको बैतडीको पाटन बजारमा विगत १ महिनादेखि खानेपानीको हाहाकार हुँदा आम उपभोक्ताहरू मर्कामा परेका छन् ।
पानीका मूलहरू सुक्नका साथै दशरथचन्द राजमार्ग चौडा गर्ने क्रममा जथाभाबी खानेपानीको पाइप काटिदा बजार क्षेत्रमा खानेपानीको अभाव भएको हो ।
२० हजारभन्दा बढी जनसङ्ख्या रहेको पाटन नयाँ सहरमा खानेपानी नहुँदा आफूहरूले खोलाको दूषित पानी पिउनु पर्ने बाध्यता रहेको डेरा गरी बस्दै आउनुभएका चक्र बहादुर चन्द दुखेसो पोख्नुभयो ।
उहाँ जस्ता हजारौँ व्यक्तिहरूले पानीका लागि मात्र दैनिक रु.१ हजारदेखि १ हजार पाँच सयसम्म तिर्नु पर्दा सहरको रहर हराएको स्थानीय बासिन्दाहरूले महसुस गरेका छन् ।
२० वर्षमा १ लाख मानिस बसोबास गर्ने नीति अनुरूप नेपाल सरकारले मध्य पहाडी लोक मार्ग आसपासका १० वटा ठाउँमा नयाँ सहर बसाल्ने नीति लिएको छ ।
२०४२ सालमा निर्माण गरिएको पाटन खानेपानी तथा सरसफाइ उपभोक्ता समिति निष्क्रिय भई पाटन नगरपालिकाले समेत कुनै ध्यान नदिँदा खानेपानी आपूर्ति हुन नसकेको पीडितहरूले गुनासो पोखेका छन् ।
पुरानो खानेपानी योजनाको मुहान सुक्न गई समिति समेत अस्त व्यस्त भएकाले ईमर्जिङ्ग टाउन अन्तर्गत लिफ्ट प्रविधिमार्फत खानेपानी योजनाको निर्माण अगाडी बढिसकेकाले यही असार भित्रै सहज रुपमा खानेपानी आपूर्ति गरिने पाटन नगरपालिकाका प्रमुख केशव बहादुर चन्द बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्