तोकिएको लक्ष्य पूरा गर्न मन्त्रालय मातहतका विभागीय प्रमुखलाई मन्त्री गुरुङको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले लक्ष्य अनुसारको प्रगति हुन नसक्नुका कारण पहिचान गर्दै तोकिएको लक्ष्य पूरा गर्न इमानदार र जबाफदेही बन्न मन्त्रालय मातहतका विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालयमा आज आयोजित आर्थिक बर्ष २०७८÷०७९ को बजेट तर्जुमा तथा चालू आर्थिक बर्ष २०७७÷०७८ को दोस्रो चौमासिक समीक्षा बैठकमा मन्त्री गुरुङले मन्त्रालय मातहतका विभाग र निकायहरूको पुँजीगत खर्च र समग्र प्रगतिमा सुधार गरेर जानुपर्ने बताउनुभयो ।

उहाँले लक्ष्य अनुसारको प्रगति हुन नसक्नु विभागीय प्रमुखहरूको कार्य सक्षमतासँग समेत जोडिएको उल्लेख गर्नुहुँदै सुधारेर अघि बढ्न निर्देशन दिनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले लक्ष्य अनुसारको प्रगति हासिल गर्न नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलाएर लैजान आवश्यक रहेकाले यसको सहजीकरणको लागि अर्थ मन्त्रालयको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले पुँजीगत खर्च र प्रगतिको आत्म समीक्षा गर्दै यसमा सुधार गर्न मातहतका निकायहरूलाई निर्देशन दिनुभयो ।
राष्ट्रिय योजना आयोगका प्रतिनिधि लक्ष्मी घिमिरेले वित्तीय तथा भौतिक प्रगति औसत देखिए पनि पुँजीगत खर्चमा सुधार गरेर जानुपर्ने बताउनुभयो ।
यसै गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधि प्रमिला आचार्यले माइलस्टोन मानिएका योजनाहरू समयमा सम्पन्न हुन नसक्नुका कारण खोजी गरी सहजीकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका निकाय र विभागीय प्रमुखहरूले चालू आर्थिक बर्ष २०७७÷०७८ को दोस्रो चौमासिक प्रगति, मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा राख्नुपर्ने विषय र आर्थिक बर्ष २०७८÷०७९ को बजेटमा समावेश गरिनु पर्ने विषयहरू प्रस्तुत गर्नुभएको थियो ।









प्रतिक्रिया राख्नुहोस्