जनताको मन जित्ने गरी काम गर्नुपर्नेमा सभापति देउवाको जोड

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा शासनका मालिक जनता हुने भएकाले जनताको मन जित्ने गरी काम गर्नु पर्ने बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी युनियन(सङ्घ)को राष्ट्रिय भेला तथा विधान अधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै सभापति देउवाले जनताको घरदैलोमा पुगेर जनविश्वास हासिल गर्ने गरी काम गर्न शुभेच्छुक एवं कार्यकर्तालाई आग्रह गर्नुभयो ।
सभापति देउवाले सरकारले संवैधानिक निकायलाई कमजोर बनाउँदै लानु र आफु अनुकूल प्रयोग गर्नु उचित नभएको बताउनुभयो ।
सभापति देउवाले वर्तमान सरकार परिवर्तन गर्न संसद्मा रहेका तीन दल मिल्नुपर्ने अवस्था रहेको भन्नुहुँदै सरकार परिवर्तन भए पनि नभए पनि निर्वाचनमा जान काँग्रेस तयार हुनुपर्नेमा जोड दिनुभयो ।
सभापति देउवाले संसद्मा विचाराधीन सङ्घीय निजामती सेवा ऐन सुदृढ नगरी पारित नहुने बताउनुभयो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक व्यवस्था बलियो बनाउन कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने भएकाले पारदर्शी र जनमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ नेता पौडेलले वर्तमान सरकारबाट लोकतान्त्रिक व्यवस्था संस्थागत नहुने भन्नुहुँदै नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संसद्मा विचाराधीन सङ्घीय निजामती सेवा ऐनको सुदृढीकरण र कर्मचारी समायोजनमा भएका कमीकमजोरी हटाउने कुरामा नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताउनुभयो ।
नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले मुलुक बनाउन महत्त्वपूर्ण अभिभारा बोकेका कर्मचारीलाई अपमानजन्य शब्द प्रयोग गर्न कसैलाई छुट नभएको बताउनुभयो ।
प्रवक्ता शर्माले प्रशासन संयन्त्रलाई सुशासनमुखी बनाउँदै सुदृढ, सक्षम र लोकतान्त्रिक प्रशासन प्रणालीको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
समारोहमा नेपाली काँग्रेसका नेता गगन कुमार थापाले नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाई निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।
नेपाल निजामती कर्मचारी युनियन(सङ्घ)का अध्यक्ष गोपालप्रसाद पोखरेलले संसद्मा विचाराधीन सङ्घीय निजामती सेवा ऐन कर्मचारीको हितमा नभई विभेदपूर्ण भएकाले कर्मचारीसँग छलफल नै नगरी ल्याएको ऐन मान्य नहुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्