तपाईँ सुन्दै हुनुहुन्छः

बन्दिपुरको विकासका लागि स्थानीय सक्रिय 

तनहुँ । पहाडकी रानीको उपनामले परिचित रहेको तनहुँ पर्यटकीय स्थल बन्दिपुरको विकासका लागि स्थानीयहरू सक्रिय बन्न थालेका छन् । बन्दिपुर गाउँपालिकाका १ का बासिन्दाहरूले स्थानीय विकास निर्माण कार्यक्रममा हातेमाले गर्दै अघि बढ्न थालेका हुन् ।
सोही वडास्थित ज्योतिमार्ग मर्मत स्तरबृद्धि कार्यमा स्थानीयवासीले सहयोग गर्दै आफ्नो गाउँ आफै बनाऔँ भन्ने उदाहरणीय कार्य प्रस्तुत गरेका छन् । ज्योति मार्गको स्तरोन्नतिको कार्यमा कोही बेल्चा चलाउँदै,कोही बालुवा बोक्दै,कोही पानीको व्यवस्था गर्ने लगायतका कार्यमा स्थानीयवासीले साथ दिएपछि निर्माण कार्यमा सहज भएको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताउनुभयो ।
श्रमदान कार्यमा एकै दिन १ सय ३० जनाले सहभागिता मात्रै जनाएनन् कि दिनभर खटेर विकास निर्माण कार्यमा संलग्न भएको देख्दा छुट्टै किसिमको खुशी लागेको वडाध्यक्ष पोख्रेलले  बताउनुभयो । भुडाटार रिमाल्नी देखि भानु नगरपालिकाको मैबल, नाबरुङ हुँदै सेपाबगैचा सम्म जोडिने ज्योतिमार्गको मर्मत तथा स्तरबृद्धि कार्यमा स्थानीयवासीले साथ सहयोग प्रदान गर्दै आएका छन् ।
उक्त योजनाबाट ८ सय ५६ जना जनसङ्ख्या लाभान्वित हुने ज्योति मार्ग मर्मत तथा स्तरबृद्धि समितिका अध्यक्ष बुद्धिमान खड्गीले जानकारी दिनुभयो ।  बन्दिपुर गाउँपालिकाको ८५ प्रतिशत र जनसहभागिताको १५ प्रतिशत लगानीमा उक्त मार्गको मर्मत सम्भार थालिएको हो ।
आयोजनाको कूल लागत रु. ४ लाख ५६ हजार ५ सय ५९ रहेको छ । गाउँपालिकाको रु. ४ लाख र जनसहभागिताबाट रु. ६८ हजार ५ सय ५९ रहेको उहाँले बताउनुभयो । आयोजनाको विसं ०७७/१०/१५मा सम्झौता गरी विसं ०७७/१२/३० मा सम्पन्न गर्ने लक्ष्य रहेको बन्दिपुर गाउँपालिका कार्यालयले जनाएको छ ।  सम्झौता अवधि भित्र सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीब्रता दिइएको छ ।
उक्त आयोजना अन्तर्गत सत्र मिटर सडक मार्गको मर्मत तथा स्तरबृद्धि गर्ने योजना रहेको समितिका सचिव कल्पना पोख्रेलले बताउनुभयो । सडक मार्ग, खानेपानी, बिजुली, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालनलगायतका क्षेत्रमा प्राथमिकता दिएर काम गर्दै आएको वडाध्यक्ष पोख्रेलले  जानकारी दिनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button