म्याग्दे गाउँपालिकामा व्यक्तिगत घटना दर्ता अब डिजिटल प्रविधिमा

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले व्यक्तिगत घटना दर्ता किताब डिजिटलाइजेसन सुरु गरेको छ । गाउँपालिकाले घटना दर्ताका विवरण ढड्डामा राख्ने प्रचलनलाई विस्थापित गर्दै सबै विवरणलाई डिजिटल प्रविधिमा रूपान्तरण गरेको हो ।
गाउँपालिका अध्यक्ष मायादेवी रानाले उक्त कार्यको शुभारम्भ गर्नुभयो । व्यक्तिगत घटना दर्ताका विवरण डिजिटल प्रविधिमा समावेश भएपछि कर्मचारीको समय बचत हुनुका साथै सेवाग्राहीले पनि छिटोछरितो सेवा पाउने गाउँपालिका अध्यक्ष रानाले बताउनुभयो ।
उहाँले भन्नुभयो ’यो हाम्रो तनहुँ जिल्ला भरिकै स्थानीय तह मध्ये पहिलो काम हो ।’
गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले २०४९ सालदेखि कार्यालयमा रहेका रजिस्टर ढड्डाहरूलाई डिजिटलाइजेसन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ’अब ढड्डाहरू पानीले भिज्ने , धमिराले खाने, अक्षर उड्ने समस्याबाट मुक्त भएका छौँ ।’
गाउँपालिका भित्रका सबै वडाको ३२ हजार ९ सय विवरण डिजिटल प्रविधिमा समावेश गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो ’कम्प्युटरमा नाम हान्ने बित्तिकै सम्पुर्ण विवरण एकै पटक पाउन सकिन्छ ।’
जन्म, मृत्यु, विवाह, बसाइँ सराइ र सम्बन्ध विच्छेदका सम्पुर्ण विवरणलाई डिजिटल प्रविधिमा रूपान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।
गाउँपालिकाले वैशाखदेखि गाउँ गाउँमा गई व्यक्तिगत घटना दर्ता शिविर मार्फत गर्न लागेको पञ्जिकरण शाखा प्रमुख एककुमार श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्