तपाईँ सुन्दै हुनुहुन्छः

अलैँची व्यवसायी महिलालाई क्षमता अभिवृद्धि तालिम

भद्रपुर, झापा । अलैँची व्यवसाय तथा खेतीमा आबद्ध महिलाहरूका लागि झापामा तीन दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ ।
नेपाल अलैँची व्यवसायी महासङ्घ अन्तर्गतको ठुलो अलैँची प्रवर्द्धनका लागि महिला सञ्जालको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा तालिम सञ्चालन भएको हो ।
बुधवार एक समारोहका बीच बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईँले उद्घाटन गरेको तालिम शुक्रवारसम्म सञ्चालन हुने बताइएको छ ।
सञ्जालकी सचिव सङ्गीता चिमरियाले सञ्चालन र कोषाध्यक्ष सुमित्रा भट्टराईले स्वागत गरेको उद्घाटन समारोहमा प्रमुख अतिथि उपप्रमुख प्रसाईँले आयमूलक व्यवसाय तथा खेतीमा महिलाको संलग्नता प्रेरणादायक रहेको बताउँदै सबै क्षेत्रका महिलाहरूको क्षमता अभिवृद्धि आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
उहाँले तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उपयोग गर्न पनि आग्रह गर्नुभयो । तालिमको सहजीकरण सङ्गीता थापाले गर्दै हुनुहुन्छ । तालिममा मारवाडी समुदायका महिलाको उल्लेख्य सहभागिता रहेको छ ।
सञ्जालकी अध्यक्ष सुष्मा भण्डारी पौडेलले अलैँची व्यवसाय तथा खेतीमा संलग्न महिलाले पनि पुरुषसरह काम गर्न सकुन्, सार्वजनिक स्थानमा डर सङ्कोचबाट माथि उठ्न सकुन् भन्ने उद्देश्यले सञ्जालको गठनसँगै क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको बताउनुभयो ।
तालिममा झापालगायत पूर्वी पहाडी जिल्लाका ३० जना महिला अलैँची व्यवसायी तथा किसानको सहभागिता रहेको महासङ्घका कार्यालय प्रमुख अनिल ढुङ्गानाले जानकारी दिनुभयो ।
यसअघि महासङ्घले अलैँचीमा आबद्ध महिलाहरूका लागि इलामको मङ्गलबारेमा अलैँचीको बोटबाट हस्तकलाका सामग्री निर्माण सम्बन्धी ९ दिने प्रशिक्षण सम्पन्न गरिसकेको छ भने सोही प्रकारको प्रशिक्षण महासङ्घको शाखा रहेका अलैँची उत्पादन हुने अन्य जिल्लामा पनि सञ्चालन गर्ने योजना रहेको ढुङ्गानाको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button