तपाईँ सुन्दै हुनुहुन्छः

सिमरा गोल्डकपको एघारौँ संस्करण चैत ३१ गते देखी सिमरामा सुरु हुने

बारा । मोफसलका प्रतिष्ठित फुटबल प्रतियोगिता सिमरा गोल्डकपको एघारौँ संस्करण चैत ३१ गते देखी बाराको सिमरामा सुरु हुने भएको छ ।
दशौं संस्करणसम्म सिमरा गोल्डकपका नामले सञ्चालन गरिएको यो प्रतियोगितालाई यस वर्ष भने ‘जीतपुरसिमरा गोल्डकप’ नामाकरण गरिएको आयोजकले जनाएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को क्यालेन्डर अनुसार प्रतियोगिता २० गते देखी सुरु हुने भनिए पनि व्यवस्थापन तयारी नपुगेकाले खेल अनिश्चित बनेको थियो । तर, हाल सबै तयारी करिब सकिएकाले चैत अन्तिमदेखि सुरु गर्ने तयारी भएको आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले बताउँनुभयो ।
आयोजक नव जनजागृति युवा क्लबले आज बाराको सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता चैत्र ३१ गतेदेखि सुरु हुने जानकारी गराएको हो ।
सिमरा रङ्गशालामा हुने प्रतियोगितामा यस वर्ष ए डिभिजनका ६, आयोजक र मोफसलका ६ गरी १२ टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष लामाले जानकारी दिनुभयो । । २०७५ माघमा सञ्चालन भएको अघिल्लो संस्करणका विजेताले ६ लाख  र उपविजेताले तीन लाख हजार प्राप्त गरेका थिए ।
गत वर्ष भने कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो । आयोजकका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यस वर्ष पनि मोटरसाइकल वा स्कुटर प्राप्त गर्ने छन्  । प्रतियोगिता अवधि भर उत्कृष्ट प्रदर्शन गर्ने गोल रक्षक , डिफेन्स , मिडफिल्ड , हाई स्कोरर , फरवार्ड र प्रशिक्षकलाई जनही १५ हजार प्रदान गरिने छ । प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ दि म्याचले ५ हजार प्राप्त गर्ने आयोजक क्लबका महासचिव शम्भु सिंह ठकुरीले जानकारी दिनुभयो  ।
प्रतियोगिता यस वर्ष साँझका समयमा सञ्चालन हुने छ । त्यसका लागि मैदानमा फ्लड लाइट जडान गरिएको उहाँले बताउँनुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सञ्चालन हुने प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्ने छन् ।
पुरस्कार राशिमा आयोजकले यस वर्ष १६ प्रतिशतले वृद्धि गरेको छ । करिब ७० लाख ५५ हजार लागत अनुमान गरिएको प्रतियोगिताको विशेष सहयोगी जीतपुरसिमरा उपमहानगरपालिका रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button