तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा र धनुषामा कोरोना संक्रमित बढ्दै

जनकपुरधाम। प्रदेश नंं २ को पर्सा र धनुषा जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेका छन् । खास गरेर पर्सा जिल्ला फेरि पनि प्रदेशका सबै भन्दा बढी कोरोना संक्रमित जिल्ला भएको प्रदेश नंं २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पर्सा जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ पुगेको छ भने धनुषा जिल्लामा १० रहेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा.कमलेश प्रसाद यादवले जानकारी दिनुभयो । यस अघि प्रदेशका ५ जिल्ला कोरोनाका सक्रिय संक्रमितको दृष्टिकोणले शून्यमा पुगेका थिए । अहिले सबै जिल्लामा संक्रमितहरु थपिएका छन् ।

सप्तरीमा १, सिरहामा १, महोत्तरीमा २, सर्लाहीमा १ रौतहट जिल्लामा १ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । सबै संक्रमितहरु होम आइसोलेसनमा भएपनि जिल्लामा संस्थागत आइसोलेसनमा अहिले पनि कोरोनाका सक्रिय संक्रमित रहेको छैन । बन्द भएका संस्थागत आईसोलेशनहरुलाई पुनः सञ्चालनको प्रयास भइरहेको छ । खास गरेर नेपाल भारतको सीमासंगै जोडिएको औद्योगिक नगर वीरगञ्ज भएको र प्रदेश नंं २ को अस्थायी राजधानी जनकपुरधाम भएकाले मान्छेको ओहोर दोहोर अत्यधिक मात्रामा रहेका कारणले नै यी दुई जिल्लाहरुमा पुनः कोरोनाका संक्रमितको संख्या बढ्न थालेको छ ।

प्रदेश नंं २ मा हालसम्म कोरोनाले सक्रिय संक्रमितको संख्या १७ हजार २ सय ५६ भएकोमा १६ हजार ९ सय ९२ जना निको भएको र २ सय ९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयलेको तथ्याङ्कमा उल्लेख रहेको छ । साथै परीक्षण पनि यी दुई जिल्लामा नै अधिक मात्रामा भइरहेको छ ।

कोरोना सङ्क्रमणबाट जोगिनका लागि स्वास्थ्य सुरक्षा सावधानी अपनाउने क्रममा कमी आएका कारणले संक्रमितको संख्या बढ्न थालेको प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले जानकारी दिनु भयो । भेला तथा भिडभाड गर्न नहुने मन्त्रालयले सूचना जारी गरे पनि भेला तथा भिडभाड हुने क्रम रोकिएको छैन । सार्वजनिक स्थलमा विना मास्क हिँड्नेको संख्या अधिक रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button