नेपाली सेनाद्वारा हिताधिकारीलाई कोभिड विरुद्धको खोप दिनु शुरु

काठमाडौँ । नेपाली सेनाले भारतीय सेनाबाट सङ्गठनलाई प्राप्त कोरोना भाइरस विरुद्धको खोप हिताधिकारीलाई उपलब्ध गराउन शुरु गरेको छ ।
नेपाली सेनाको मध्य पृतना हेटौडामा प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधान सेनापति पूर्णचन्द्र थापाले सङ्गठनको उद्देश्य अनुरूप भूपू सैनिक एवं बहालवाला र आश्रित परिवारलाई आजैदेखि खोप प्रदान गर्न शुरु गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा प्राथमिकताका आधारमा १८ जना हिताधिकारीलाई कोभिड–१९ को खोपसमेत प्रदान गरिएको थियो ।
प्रधानसेनापति थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यतालाई जीवन्त राख्न अवकाश प्राप्त सैनिकले गरेको निःस्वार्थ सेवाभावको प्रशंसा गर्नुभयो ।

सैनिक कल्याणकारी बोर्डको संयोजन तथा नेपाली सेनाको व्यवस्थापनमा बागमती प्रदेशका भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको सहभागितामा ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार, आत्मसम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।
सम्मेलनमा बागमती प्रदेश अन्तरगत ८ जिल्लामा बसोबास गर्ने ७ हजार ४ सय ३६ नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता थियो ।

बलाधिकृत रथी प्रभुराम शर्माले अवकाश पछि पुनः रोजगारीका लागि बिदेसिने अवस्थाको अन्त्य गरी स्वदेशमै स्वरोजगारीका अवसर सृजना गरी परिवारसँगै सुखमय जीवनयापनका लागि नेपाली सेनाले सैनिक कल्याणकारी गतिविधिहरूलाई विविधीकरण गरी सर्वसुलभ बनाउन अधिकतम प्रयास गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा ज्येष्ठ भूतपूर्व सैनिक थाहा नगरपालिका–३ पालुङ्ग, मकवानपुर निवासी ९८ वर्षीय अवकाश प्राप्त सुबेदार गजेन्द्रबहादुर कार्की, शमशेर दल गणबाट अवकाश प्राप्त स्वर्गीय सिपाही नन्दप्रसाद पाल्याको श्रीमती गोमा ढकाललाई सम्मान गरिएको थियो ।
त्यसै गरी, सर्वोत्कृष्ट लघु व्यवसायी नुवाकोट जिल्ला विदुर नगरपालिका निवासी राजकुमार आचार्य लगायतलाई सम्मान गरिएको थियो भने समारोहमा चार वा सोभन्दा बढी सन्ततिलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने आमा/बुबालाई सम्मान गरिएको थियो ।

फरक क्षमता भएका तथा अशक्त ४९ जनालाई ह्विल चियर, वैशाखी र आर्थिक सहयोग प्रदान गरिनाका साथै लघुवित्त कार्यक्रमअन्तर्गत महिला उद्यमशील कर्जा प्राप्त गर्ने ऋणीहरूलाई नेपाल इन्भेष्टमेन्ट बैक मार्फत चेक हस्तान्तरण गरिएको थियो ।










प्रतिक्रिया राख्नुहोस्