तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा भाइरल ज्वरोका बिरामी बढ्दै

अछाम । अछाममा भाइरल ज्वरोका बिरामी बढेका छन् । मौसममा आएको परिवर्तन सँगै अछाममा पनि भाइरल रोगका बिरामी बढेका जिल्ला अस्पताल अछामले जनाएको छ ।

विगत केही दिनदेखि देशैभर वायु प्रदूषण बढेको, लामो समयदेखि खडेरी रहेको र  त्यसको असर अछाममा पनि परेको छ । गर्मी याम र  मौसम बदली हुँदा अछामका १० वटै स्थानीय तहका घरघरमै भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् ।

भाइरल रोगबाट बालबालिका, ज्येष्ठ नागरिक, विद्यार्थी, गर्भवती महिला, दीर्घरोगी र सञ्चारकर्मी बढी प्रभावित भएका छन् । पछिल्लो एक सातादेखि निरन्तर भाइरल ज्वरोका बिरामी बढेका हुन् ।

जिल्ला अस्पताल लगायत जिल्लाका सबै स्वास्थ्य संस्थामा ज्वरो आउने, टाउको, पेट, घाँटी दुख्ने, बान्ता हुने र रुघाखोकी लाग्ने लक्षण देखिएका बिरामीको सङ्ख्या बढेको जिल्ला अस्पताल अछामका डाक्टर हितेश खड्काले जानकारी दिनुभयो । मौसम परिवर्तन र वातावरण प्रदूषणका कारणले जिल्लामा बिरामीको चाप बढेको उहाँले बताउनुभयो ।

पछिल्लो पटक जिल्ला अस्पताल अछाममा मात्रै दैनिक ४० देखी ५० जना सम्म भाइरल रोगका बिरामीहरू उपचारका लागि आउन् गरेका अस्पतालले जनाएको छ । गएको एक सातामा अस्पतालबाट करिब ३ सय जना भन्दा धेरैले स्वास्थ्य चेकजाँच गरेको उहाँले बताउनुभयो । ग्रामीण क्षेत्रमा औषधी अभाव भएको स्वास्थ्य संस्थाहरूले जनाएका छन् ।

जिल्लामा भाइरल रोगका बिरामी दिनानुदिन बढिरहेका बेला स्थानीय सरकारले औषधि उपचारको व्यवस्था गर्न नसकेको स्थानीयको आरोप छ । गाउँमा धेरै भाइरलका बिरामी देखिएकोले उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मीले नागरिकलाई सुझाउन थालेका छन् ।

भाइरल ज्वरोका कारण अछाम जिल्लाका २ माध्यमिक विद्यालय यसअघि ५/५ दिन बन्द गरी पठनपाठन स्थगित गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button