तपाईँ सुन्दै हुनुहुन्छः

रणनीतिक सडक सञ्जाल शुभारम्भपछि स्थानीयवासी खुसी

symbolic picture

तनहुँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर निर्माण हुने १६५ वटा सडक सञ्जालको शुभारम्भ गर्दा तनहुँमा दुई वटा रणनीतिक सडक आयोजना छनोट भएको छ । तनहुँका दुई रणनीतिक सडक योजना छनोट भएसँगै यहाँका स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।

तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गत मादी मर्स्याङ्दी र तनहुँ क्षेत्र नं २ अन्तर्गत गाईघाट गल्याङ सडक खण्ड छनोट भएको छ । दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा छनोट भएका दुई रणनीतिक सडक आयोजनाका लागि रु ४०–४० करोड बजेट विनियोजन हुने भएको छ । व्यास नगरपालिका–९ गजौडेका विजय आचार्यले मादी मर्स्याङ्दी मार्गलाई निर्वाचन क्षेत्र रणनीतिक योजनामा छनोट गरिएपछि खुसी व्यक्त गर्नुभएको छ ।
व्यास र भानु नगरपालिकाको सीमाबाट सुरु हुने उक्त मार्ग गोरखाको पालुङटारसम्म जोडिनेछ । कूल ३२ किमी दूरीको उक्त सडकको १२ किमी दूरी कालोपत्रे सम्पन्न भइसकेको छ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले उक्त सडक कालोपत्रेपछि यस क्षेत्रका स्थानीयवासीको जीवनयापनमा सहजता आउने बताउनुभयो ।
यसैगरी तनहुँ क्षेत्र नं २ अन्तर्गत तनहुँको गाईघाटबाट गल्याङसम्म जोड्ने सडक योजना छनोट गरिएको छ । तनहुँको देवघाटबाट सुरु हुने उक्त मार्ग ऋषिङ, घिरिङ, स्याङ्जाको चापाकोट हुँदै गल्याङसम्म पुग्नेछ । उक्त सडकको १७० किमी छ । हाल उक्त सडकको डिपिआर गर्ने काम सुरु भएको तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले जानकारी दिनुभयो ।
हरेक निर्वाचन क्षेत्रमा त्यहाँका सांसदले छानेका सडकलाई छनोट गरी सरकारले एकैसाथ शुभारम्भ गरेको छ । निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणसम्बन्धी मापदण्डमा सङ्घीय राजधानीलाई जोड्ने, प्रादेशिक राजधानीलाई जोड्ने, अन्तर्राष्ट्रिय विमानस्थल र सिमानालाई जोड्ने, दुई निर्वाचन क्षेत्रका प्रमुख स्थललाई जोड्नेजस्ता विषय समावेश गरिएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button