तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा चैते धान खेती प्रति किसानको आकर्षण बढ्दो

जनकपुरधाम। धनुषा जिल्लामा चैते धान खेती प्रति किसानको आकर्षण बढ्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत जातको बीउ उपलब्ध गराएपछि चैते धान खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भएको छ ।

खास गरेर धनुषा जिल्लाको धनुषाधाम, मिथिला, हंशपुर नगरपालिका तथा वटेश्वर गाउँपालिकामा चैते धान खेती गर्ने क्रम बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना समन्वय ईकाई धनुषाका प्रमुख यूगल किशोर तिवारीले जानकारी दिनुभयो  ।

अहिले धनुषा जिल्लामा १ सय २० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको कार्यालयले जनाएको छ । चैते धान प्रति कठ्ठा ५ मन उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । प्रति किलो ६० रुपैयाँ पर्ने धानको बीउ ३० रुपैयाँमा दिएपछि खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भएको परियोजनाका कृषि प्राविधिक राहुल देव साहले जानकारी दिनु भयो । यसका साथै थोरै समयमा पनि उत्पादन दिने गरेको हुनाले आकर्षण बढेको छ ।

चैते धानको लागि पानी अत्यधिक मात्रामा आवश्यक भएकाले पानीको श्रोत भएको ठाउँमा यसको उत्पादन बढी हुने साहले बताउनु भयो । खास गरेर चैते धानवाट चिउरा, मुरहीको उत्पादनका लागि उपयोगी हुने भएकाले नेपालमा नै यसको खेती गरेको खण्डमा भारत वाट धान आयात गर्नु पर्ने बाँध्यताको अन्त्य हुने विश्वास परियोजनाको रहेको छ ।

धनुषा जिल्लाको धनुषाधामा नगरपालिकामा ६० हेक्टर क्षेत्रफलमा चैते धानको खेती हुने गरेको छ । यस ठाउँका किसानहरू चैते धान उत्पादन वाट अत्यधिक मात्रामा लाभ पाएपछि वर्षेनी रुपमा धान खेती गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको किसान ब्रह्मदेव यादवले जानकारी दिनु भयो । खास गरेर सिँचाइ सुविधा बढ्यो भने धेरै किसानले खेती गर्नका लागि उत्साहित रहेको पनि उहाँले बताउनु भयो ।

खास गरेर चैते धानमा चैते ५ र हर्दिनाथ १ जातको धानको विउँ ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने काम भएको परियोजनाले जनाएको छ । तर चैते धान गरेपछि जङ्गली बदेल तथा अन्य चौपायाहरुको प्रकोप अत्यधिक मात्रामा रहेकाले समस्या हुने गरेको किसानहरुले गुनासो गरेका छन् । समूहमा धेरै जनाले खेती गरेको खण्डमा चौपायाको डर कम हुने भएकाले चैते धान प्रति प्रोत्साहन गर्न जरुरी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button