तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुराको जुनार बजार खोज्दै काठमाडौँमा, उत्पादन र बजारीकरणमा सहयोग गर्ने कृषि मन्त्री अर्यालको प्रतिबद्धता

काठमाडौँ । डडेलधुरा जिल्लामा उत्पादन भएको जुनार बजारीकरणका निम्ति त्यहाँका किसानहरूले पहलकदमी थालेका छन् । यस क्रममा डडेलधुराका जुनार उत्पादक किसानहरूले आज (बिहीबार) कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्याललाई भेटेर उत्पादन र  बजारीकरणमा सहयोग गरिदिन आग्रह गरेका छन् ।
त्यस क्रममा किसानहरूले मन्त्री अर्याललाई त्यहाँ उत्पादित जुनार उपहार दिँदै सिँचाइको अभावमा जुनारको बोट मर्ने समस्या रहेको भन्दै त्यसको समाधानका निम्ति सिचाइको व्यवस्थाका निम्ति सहयोग गर्न आग्रह गरेका थिए । त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले डडेलधुराको जुनार उत्पादन वृद्धि गर्न आगामी वर्षको कार्यक्रममा विशेष व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । बजारीकरणको क्षेत्रमा कालीमाटी फलफूल तथा तरकारी बजारमा डडेलधुराका कृषकहरूको उत्पादनलाई बिक्रिवितरण गर्न सहजीकरण गरिने समेत मन्त्री अर्यालले आश्वासन दिनुभयो । उहाँले जुनार उत्पादन क्षेत्रमा सिचाइको व्यवस्था समेत गरिने बताउनुभयो ।
भागेश्वर गाउँपालिका–५ चुल्ल–शिराड डडेलधुराका किसानहरूले चुल्लका शिद्धनाथ नागार्जुन बहुउद्देश्यीय कृषक समूहमार्फत जुनार उत्पादन गर्दै आएका छन् । अहिले बजारीकरणका निम्ति १३ सय किलो जुनार लिएर काठमाडौँमा आएको अगुवा किसान अन्तराम जोशीले जानकारी दिनुभयो । ‘बाउ बाजेको पालादेखी नै डडेलधुरामा जुनारको खेती गर्दै आएको हो तर बजारीकरणको अभावमा बारीमै कुहिएरै जाने अवस्था थियो’, उहाँले भन्नुभयो, ‘बजार नपाउने समस्या थियो । त्यसैले अहिले हामीले कृषक समूहमार्फत बजारीकरण, प्रचारप्रसारका जुनार लिएर काठमाडौँ आएका हौ ।’
जुनार लिएर काठमाडौँ आएका समूहका अगुवा किसान नारायणदत्त जोशीले सिचाइको अभावमा जुनारको बोट सुक्न थालेकाले त्यो समस्या समाधान गरिदिन र बजारीकरणमा सहयोग गर्न मन्त्रीसँग आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रीसमक्ष हामीले हाम्रा उत्पादन र समस्याहरू राख्यौ । उहाँले जुनारको बजारीकरण र सिँचाइका निम्ति सहयोग गर्छौ भन्नुभएको छ ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको डडेलधुरास्थित कार्यालयका प्रमुख खेमराज जोशीले आगामी दिनमा जुनार खेती प्रवर्द्धनका लागि समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कृषि ज्ञान केन्द्र डडेलधुराले बजारीकरणका निम्ति ढुवानीमा सहयोग गरेपछि किसानहरू काठमाडौँसम्म जुनार लिएर आएका हुन् । केन्द्रले नयाँ बिरुवा रोप्नका निम्ति समेत सहयोग गरेको छ ।
द लोकल्स काठमाडौँले बजारीकरणमा सहयोग गर्दै आएको छ । द लोकल्सका सञ्चालक सुहृद चापागाईँले किसानहरूबाट उचित मूल्यमा जुनार लिएर विभिन्न बजारहरूमा बजारीकरणमा सहयोग गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button