तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सरकारको फागुन मसान्तसम्म ३६.४६ प्रतिशत खर्च

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३६ दशमलव ४६ प्रतिशत खर्च गरेको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म आइपुग्दा जम्मा ३६ दशमलव ४६ प्रतिशत खर्च गरेको हो ।
त्यसमध्ये विकास बजेटतर्फको खर्च ३३ दशमलव ३५ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २०७६÷७७ को फागुन मसान्तसम्म प्रदेश सरकारले २८ प्रतिशत बजेट खर्च गरेको थियो ।
प्रदेश सरकारले गरेको खर्च प्रतिशतलाई हेर्दा गत वर्ष भन्दा केही बढेको देखिए पनि सन्तोषजनक छैन । तर चालु आर्थिक वर्षमा गत वर्ष भन्दा जनशक्ति व्यवस्थापन, बजेट परिचालन र खर्च गर्ने निकायको व्यवस्थापन हुँदै गएको प्रदेश लेखा नियन्त्रक कार्यालय बुटवलका प्रमुख दिपक ज्ञवालीले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि ३६ अर्ब ३५ करोड २६ लाख बजेट विनियोजन गरेको थियो । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७२ करोड ३२ लाख ४८ हजार थियो भने चालुतर्फ १७ अर्ब ६२ करोड ९२ लाख ५२ हजार रुपैयाँ छुट्टाएको थियो । आठ महिनामा भएको खर्च अनुसार चालुतर्फ ७ अर्ब १ करोड २४ लाख २१ हजार छ भने पुँजीगततर्फ ६ अर्ब २४ करोड ३३ लाख ९२ हजार रहेको छ ।
फागुन मसान्तसम्म प्रदेश सरकारले छुट्टाएको कुल बजेटमा १३ अर्ब २५ करोड ५८ लाख मात्र खर्च भएको ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार सबैभन्दा धेरै १५ अर्ब १२ करोड ५३ लाख ४७ हजार बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुतर्फ ५३ दशमलव ६९ प्रतिशत खर्च गर्दा पुँजीगततर्फ भने जम्मा ३६ दशमलव ७१ प्रतिशत खर्च गरेको छ । ५ अर्ब ७५ करोड ६८ लाख ४४ हजार बजेट रहेको सामाजिक विकास मन्त्रालयको खर्च प्रतिशत पनि सन्तोषजनक छैन ।
चालु खर्चतर्फ ३४ दशमलव ४० प्रतिशत रहेको मन्त्रालयको पुँजीगत खर्च भने २८ दशमलव ७६ प्रतिशत मात्रै रहेको छ । त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पनि पुँजीगततर्फको खर्च १८ दशमलव ९२ प्रतिशत मात्रै रहेको छ ।
त्यस्तै चालु वर्षमा २ अर्ब ९१ करोड ९६ लाख ६६ हजार बजेट पाएको पर्यटन, उद्योग वन वातावरण मन्त्रालयले पनि ८ महिनामा ४० प्रतिशत खर्च गरेको छ । सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले कोरोना महामारीका बिचमा पनि गत आर्थिक वर्षको पछिल्लो चौमासिकमा उल्लेख्य प्रगति भएकोले चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार बजेट कार्यान्वयन हुने दाबी गर्नुभयो ।
प्रदेश सरकारको खर्च प्रगति सन्तोषजनक नभए पनि आन्तरिक राजस्व सङ्कलन भने सन्तोषजनक देखिएको छ । गत आर्थिक वर्षमा आन्तरिक तर्फ ३ अर्ब ४८ करोड ९१ लाख १२ हजार राजस्व सङ्कलन गरेको प्रदेश सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३ अर्ब ३० करोड ३८ लाख ८५ हजार १ सय ८९ रुपैयाँ सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले आन्तरिक तर्फ ३ अर्ब ८९ करोड ७७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।
प्रदेश सरकारले स्थानीय तहबाट प्राप्त हुने राजस्व तर्फ भने लक्ष्य भन्दा अत्यन्त न्यून जम्मा ४ दशमलव २९ प्रतिशत मात्र सङ्कलन गर्न सफल भएको छ । केन्द्रबाट हुने राजस्व बाँडफाँड, अनुदानको रकम, स्थानीय तहबाट प्राप्त हुने राजस्व र प्रदेश सरकारको आन्तरिक राजस्व गरी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३६ अर्ब ३५  करोड २५ लाख बजेट सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button