घुस अस्वीकार गर्ने ३४ जना ट्राफिक प्रहरी सम्मानित
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने एक प्रहरी नायव निरीक्षकसहित ३४ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ ।सम्मानित हुनेहरूमध्ये ७ जनालाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी पुरस्कृत गरिएको महाशाखाले जनाएको छ । यसरी पुरस्कृत हुनेहरूमा प्रहरी हवलदार भीम बहादुर बोहोरा र वसन्त कुमार गौतम, प्रहरी जवानहरू क्रमशः विनोद खनाल, अजय सुनार, राजेश कोइरी, लाल बहादुर बि.क. र शङ्कर कुमार पन्त रहेका छन् ।
प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलताको पालना गर्ने क्रममा घुस दिन खोज्ने १३६ जना चालकहरूलाई पक्राउ गरी कारबाही गरिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
घुस दिन खोज्ने चालकहरूलाई कारबाहीको दायरामा ल्याई सङ्गठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एवं पुरस्कृत गरिएको उहाँले बताउनुभयो ।
आम सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र उल्लङ्घन पश्चात् हुने कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न पनि महाशाखाले आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्