तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको भिमाद र म्याग्देमा नियमित कक्षा सञ्चालन

तनहुँ । तनहुँको भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेकोले विद्यालयहरू नियमित रुपमा सञ्चालन गर्न गराउन निर्देशन दिएको छ ।

भिमाद नगरपालिकाले सूचना जारी गर्दै भनेको छ ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखा परेको अस्वाभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरका कारण विद्यालयहरू २० गतेसम्म बन्द हुने सूचना जारी भएता पनि यस नगर क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालयहरू नियमित रुपमा सञ्चालन गर्न गराउन निर्देशानुसार सूचित गरिन्छ ।’

काठमाडाँै, पोखरालगायतका ठाउँमा वायु प्रदूषणको बढी प्रभाव रहेको र भिमाद क्षेत्रमा त्यति धेरै असहज अवस्था नरहेकाले विद्यालय नियमित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो ।

शुक्रवारदेखि काठमाडौँलगायत देशका विभिन्न स्थानमा प्रदूषण बढेपछि सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।

त्यस्तै जिल्लाको म्याग्दे गाउँपालिकाले समेत विद्यालय नियमित गराएको छ ।

वायुमण्डलमा देखा परेको अस्वाभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरको अवस्थालाई मध्यनजर गर्दै चैत २० गतेसम्म विद्यालय बन्द गर्ने सरकारले निर्णय गरे पनि गाउँपालिकाले भने विद्यालय नियमित गराएको हो ।

गाउँपालिकाभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको र अधिकांश विद्यालयहरूमा दोस्रो चौमासिक परीक्षा सञ्चालनको कार्यक्रम रहेको हुँदा विद्यालय नियमित गराइएको गाउँपालिकाका अध्यक्ष माया रानाले जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर परीक्षा लगायत अन्य कार्यक्रम अर्को सूचना प्रकाशित नहुँदासम्म नियमित रुपमा सञ्चालन गर्न सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्राचार गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button