समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पुरा गर्न नगर विकासको कोषको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको पूर्वाधार तथा विकास निमार्णको काममा नगर विकास कोषको लगानी उल्लेखनीय रहेको बताउनु भएको छ ।
नगर विकास कोषको आयोजनामा विराटनगरमा आज आयोजित प्रदेशस्तरीय गोष्ठीको आज उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राईले सरकारको प्रमुख लक्ष्य समृद्ध नेपाल र सुखी नेपाली हो भन्नुहुँदै सो लक्ष्य पुरा गर्न नगर विकासको कोषको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।
मुख्यमन्त्री राईले प्रदेश नं.१ लाई व्यवस्थित सहरीकरण गर्न प्रदेश सरकारले बृहत् विराट क्षेत्रको अवधारणा अघि सारेको बताउनुभयो ।
उहाँले प्रदेश नं. १ का १९ भन्दा बढी पालिकाहरूमा स्मार्ट सिटी बनाउने योजनाका साथ काम भइरहेको र त्यस्ता सिटीहरूमा आवश्यक सबै पूर्वाधार रहने बताउनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सीमित स्रोत साधन भए पनि कोषको वित्तीय सहजिकरणका कारण विकास निमार्णका कामले महानगरपालिका क्षेत्रमा गति लिएको उल्लेख गर्नुभयो ।
महानगरपालिका क्षेत्र भित्र नगर विकास कोषको सहयोगमा दर्जनौँ आयोजनाहरू निमार्ण भइरहेको भन्नुहुँदै नयाँ शहर निमार्णका लागि कोषलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले नगरपालिका सहरहरूलाई स्वच्छ , हराभरा र व्यवस्थित गर्न सबै पालिकासँग हातेमालो गरेर अघि बढ्न आफूहरू तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु, कोषका सदस्य एवम् दमक नगरपालिका उपाध्यक्ष गीता अधिकारीले नगर विकास कोषले पुर्याएको सहयोगको चर्चा गर्नुभयो ।
नेपाल भरी नगर विकास कोषका १२ आयोजना सञ्चालनमा रहेको र त्यसमा १२ अर्बभन्दा बढी कोषको लगानी रहेको छ ।
प्रदेश नं. १ का कोषका लगानीको सबैभन्दा बढी आयोजना सञ्चालित छन् ।








प्रतिक्रिया राख्नुहोस्