तपाईँ सुन्दै हुनुहुन्छः

सरकार पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा दृढः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा दृढ रहेको बताउनुभएको छ ।

रिपोर्टस क्लब नेपालको २३ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सञ्चार जगतले स्वतन्त्रताको सही सदुपयोग गर्नुपर्ने बताउनुहुँदै सञ्चारजगतको विकास र उन्नतिका लागि सरकार तयार रहेका बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले देशमा ल्याएको विकासको लहर देख्न नसकेर केही व्यक्तिहरूले आफ्नो निजी स्वार्थ पुरा गर्न  मुलुकको राजनीति धमिल्याउन खोजेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफु कहिल्यै एकताको बाधक नबनेको बताउनुहुँदै केही व्यक्तिहरूको मनोमानीका कारण यो अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो संस्कृति र संस्कारको पूर्ण पालना गरी विश्वले अनुशरण गर्ने खालको बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा प्रवर्द्धनका लागि सरकारले विभिन्न कामहरू गरिरहेको बताउनुहुंदै आगामी साउन महिना देखि सामाजिक सुरक्षा भत्तामा वृद्धि गरिने जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले प्रदेशहरुलाई बजेट विनियोजन गर्दा कुनै पनि पूर्वाग्रह र भेदभाव नभएको बत्ताउनुहुँदै बरु आवश्यक परेको खण्डमा विशेष कार्यक्रम र सहुलियत प्रदान गरिएका बताउनुभयो ।

प्रधानमन्त्री ओलीले केही मूलकहरूले अझै पनि कोरोनाको खोप नपाएको बत्ताउनुहुँदै सरकारले कोरोनाको निःशुल्क परीक्षणदेखि उपचार र खोप समेत निःशुल्क गरेको बताउनुभयो ।

कार्यक्रममा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले समाज रूपान्तरणमा सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बत्ताउनुहुँदै जनतामा निराशा जगाउने मात्र नभई अनुसन्धानमा आधारित सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चार मन्त्री गुरुङले जनताको बिचमा जाने कुरा अलोकतान्त्रिक र प्रतिगामी हुनै नसक्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् भङ्ग गरेर जनताको अधिकार रक्षा नहुने भएकाले सत्ताभन्दा व्यवस्थालाई महत्त्व दिनुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई संस्थागत गर्न सानातिना मतभेद त्यागेर नेताहरू एकठाउंमा आउनुपर्ने बताउनुहंदै सञ्चारमाध्यमले यसतर्फ खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जनता समाज पार्टीका अध्यक्ष महन्थ ठाकुरले लिखित रुपमा मधेशका मागहरू पुरा गर्ने ऐक्यबद्धता जनाए आफूहरू सरकारलाई सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले संसद् अवरुद्ध गरेर देसलाई प्रतिगमनतिर लैजाने छुट कसैलाई नभएको बताउनुभयो ।

कार्यक्रममा सञ्चार क्षेत्रमा रहेर महत्त्वपूर्ण योगदान दिएका व्यक्तिहरूलाई रिपोटर्स क्लबले हरेक बर्ष प्रदान गर्ने विभिन्न राशिका पुरस्कार समेत प्रदान गरिएको छ ।

रिपोटर्स क्लबले प्रदान गर्ने यस बर्षको तारणीप्रसाद कोइराला पत्रकारिता पुरस्कार रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल र नेपाल टेलिभिजनका वरिष्ठ सम्वाददाता शालिकराम सुवेदीलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button