कृषकलाई चार सय थान आधुनिक मौरीको घार वितरण

सोलुखुम्बु। सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–८ देउसाका दुई सय कृषकलाई मौरी पालनका लागि आधुनिक घार वितरण गरिएको छ । व्यावसायिक मौरी पालनतर्फ किसानलाई आकर्षित गर्न दुई सय कृषकहरुलाई चार सय थान आधुनिक घार वितरण गरिएको हो ।
पाँच दिने तालिमसंगै मौरीको आधुनिक घार पाएपछि कृषकहरु हर्षित बनेका छन् । अहिलेसम्म परम्परागत रुपका घारमा मात्र मौरी राख्दै आएकोमा आधुनिक घार पाएपछि स्थानीय रामवीर राईले खुसी भएको बताउनुभयो । व्यावसायिक मौरीपालनका लागि स्थानीय सरकारले वडा नं. ७ देउसालाई तोरी पकेट क्षेत्रको कार्यक्रम अघि बढाएको छ ।

घार वितरण गर्दै गाउँपालिका अध्यक्ष असिम राईले निर्वाहमुखी कृषिलाई सुधार गर्दै व्यावसायिकतातर्फ लाग्न कृषकलाई प्रोत्साहन स्वरूप आधुनिक मौरीको घार वितरण गरिएको बताउनुभयो । नागरिकको आर्थिकस्तर उकास्नका लागि कृषिको व्यावसायिकता आजको आवश्यकता भएको औँल्याउँदै अध्यक्ष राईले प्राथमिकताको साथ काम गर्दै आएको बताउनुभयो ।
देउसा कृषि वन स्रोत केन्द्रलाई अभिभावक मानेर हरेक वडामा कृषि वन स्रोत केन्द्र स्थापनालाई कार्यान्वयनमा ल्याएको भन्दै गाउँपालिकाका नागरिकलाई कृषि र वनको माध्यमबाट धनी बनाउने सपना बोकेर जनप्रतिनिधिहरु लागि परेको उहाँको दाबी छ । कृषिको अलवा स्थानीय सरकारले पुर्वाधार विकास, स्वास्थ्य, शिक्षा र खेलकुदमा महसुस गर्न सकिने गरी काम गरिरहेको जनप्रतिनिधिहरुको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्