तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा हर्षोल्लासका साथ मनाइयो होली 

सुनसरी । रङ्गहरूको पर्वको रुपमा परिचित होलीको दोस्रो दिन सुनसरी जिल्लाभर हर्षोल्लासका साथ मनाइएको छ ।
सुनसरीमा बच्चादेखि युवायुवतीहरूले रङ्गहरूको होली पर्व उल्लासका साथ मनाएका छन् । गत वर्ष मनाउन नपाएकाहरूले यसपालि भने खुलेर होली वर्ष मनाएका छन् ।
यसैबिच इनरुवा नगरपालिकामा सोमबार नेकपा एमाले इनरुवा नगर कमिटीको आयोजना होली विशेष शुभकामना आदानप्रसाद कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीका इनरुवा नगर अध्यक्ष विदुर सुवेदीको अध्यक्षतामा सम्पन्न भएको होली विशेष कार्यक्रमका प्रमुख अतिथि एमालेका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले पार्टीमा गुट उपगुट नभई एकजुटको आवश्यकता रहेको बताउनुभयो ।
भण्डारीले देश र जनताको पक्षमा काम गर्ने एक मात्र पार्टी एमाले भएकाले यस बिचमा भएको विवाद र असझदारीहरुलाई बिर्सेर पार्टी एकताको लागि नेताहरू मिल्नुको विकल्प नरहेको बताउनुभयो ।
उहाँले पार्टीको विधान विपरीत कोही कसैलाई काम गर्ने अधिकार नभएकाले पार्टीको समानान्तर कमिटी गठन गर्ने र समानान्तर गतिविधि गरे कारबाही समेत गर्ने चेतावनी दिनुभयो ।
भण्डारीले एमाले पार्टीको कुशल नेतृत्व गर्ने नेता नै केपी शर्मा ओली भएकाले एमाले भित्रको एकता र सुदृढीकरण आवश्यक रहेको बताउनुभयो । अहिले नेकपा एमालेलाई जनताले विश्वास गरेकाले त्यसमा धोका दिने र विश्वास घात गर्ने कोही पनि नेतालाई छुट नहुने चेतावनी दिनुभयो ।
कार्यक्रममा अर्का केन्द्रिय सदस्य सरोज पोखरेलले होली पर्वले गुटगत राजनीति गर्ने पात्रहरूलाई एकता, सद्धभाव र सहकार्यको भावना पलाओस् भनेर शुभकामना दिनुभयो । उहाँले पार्टीमा बिराएर अरू तिर लागेका नेता कार्यकर्ताहरुलाई आफ्नै पार्टीमा फर्किन अपिल समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button