तपाईँ सुन्दै हुनुहुन्छः

मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने १३ पक्राउ 

वीरगञ्ज । होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरी वीरगन्जमा मोटरसाइकल चलाउने १३ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।

त्यस क्रममा प्रहरीले ट्राफिक नियम उलङ्घन गर्ने ३३ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

यसैबीच होली मनाउने बहानामा मादक पदार्थ सेवन गरी एउटै मोटरसाइकलमा ३ जना बसेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा एक जना मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३, पानीट्यकींका २० वर्षीय साहिल वर्णवाल मोटरसाइकलबाट खसेर बेहोस भएका र उनलाई उपचारका लागी नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी ओमप्रकाश खनालले बताउनुभयो ।

स्थानीय राहुल चौरसियाले चलाएको ना १७ प ७८०९ नम्बरको मोटरसाइकलको पछाडि १९ वर्षीय नितिन साह र वर्णवाल बसेका थिए ।

वर्णवाल मोटरसाइकलबाट खसेपछि चालक चौरसिया, नितिन साहलाई पक्राउ गरेको छ भने मोटरसाइकल नियन्त्रणमा लिइएको प्रवक्ता खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button