भोजपुरका क्वारेनटाइन तयारी अवस्थामा राखिने
भोजपुर । भोजपुरका क्वारेनटाइन तयारी अवस्थामा राखिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारत, बेलायत, फ्रान्सलगायत युरोपेली मुलुकमा कोरोना (कोभिड–१९) को संक्रमण बढेको भन्दै नेपालमा पनि प्रभाव पर्न सक्ने जनाएपछि जिल्ला प्रशासन कार्यालय भोजपुरमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले क्वारेनटाइन र होल्डिङ सेन्टरलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक कृष्ण प्रसाद भण्डारीको संयोजकत्वमा भएको बैठकले कोभिड–१९ सङ्क्रमणको सम्भावनालाई मध्यनजर गर्दै विगतमा जिल्लाको पूर्वी अरुण गाउँपालिकाको जरायोटारमा रहेको होल्डिङ सेन्टर र भोजपुर नगरपालिका वडा नम्बर ६ को देउराली शैक्षिक तालिम केन्द्रमा रहेको आइसोलेसन केन्द्र र अन्य पालिकाहरूमा विगतमा बनेका क्वारेन्टाइनहरुलाई तयारी अवस्थामा राख्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।
भोजपुरमा २ नगरपालिका र ७ वटा गाउँपालिका छन् ।
भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले कोरोना सङ्क्रमण जिल्ला तहमा फैलन नदिन सबैलाई सचेत गराइएको बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी लुइँटेलले बैठकले सभा, जुलुस, जमघट, सेमिनार लगायतका कार्यक्रम नगर्न, भिडभाड हुने कार्य नगर्न, सामाजिक तथा भौतिक दुरी कायम गर्न र मास्कको प्रयोग गर्न भोजपुर जिल्लावासीमा आग्रह समेत गर्ने निर्णय गरेको बताउनुभयो ।
कोरोनाको नयाँ संस्करण सुरुवात भएको र यो निकै जटिल प्रकृतिको भएकोले सचेत र सजग रहन भोजपुर प्रशासनले समेत सबैलाई आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी लुइँटेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्