तपाईँ सुन्दै हुनुहुन्छः

काँकरभिट्टा नाका भएर नेपाल प्रवेश गर्नेको संख्या बढ्दै

झापा । भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपालको पूर्वी सिमानाका भएर नेपाल प्रवेश गर्ने मानिसको संख्या दैनिक बढ्दै गएको पाइएको छ । प्रशासनले नाका ओहोरदोहोर गर्नेको संख्यामा नियन्त्रण गरिएको दाबी गरी रहँदा हेल्प डेस्कको तथ्यांकमा भने चहल पहल उस्तै देखाएको छ । दैनिक हजारौं मानिस नाकाबाट ओहोर दोहोर गरिरहेका छन् ।

सिमा नाका काँकरभिट्टामा रहेको हेल्प डेस्कले दिएको जानकारीमा शनिबार ५ हजार २५५ पुरुष, ४ हजार ५ सय महिला र ५ सय ५५ बालबालिका गरी १० हजार ३ सय १० नेपाल प्रवेश गरेका छन् । सीमानाकामा रहेको हेल्प डेस्कको अभिलेखमा आइतबारसमेत ७ हजार बढी ब्यक्तिको तापक्रम मापन गरिएको छ । जसमा ४ हजार ९५ पुरुष, ३ हजार १५ महिला र ३३२ जना बालबालिका रहेका छन् ।

हेल्प डेस्कको रेकर्डमा नेपाल प्रवेश गर्ने सबै स्थानका नागरिकको तथ्यांक समावेश छ । सिमा नाकामै २ वटा सुरक्षा चेक पोष्ट तैनाथ छन् । सशस्त्र प्रहरी र जनपथ गरी दर्जन बढी सुरक्षाकर्मी २४ घण्टा खटिएका छन् ।सशस्त्र प्रहरीको टोली सीमामा रहेको मेची पुल नजिकै बसेको छ । जसले भारतबाट नेपाल आउने र नेपालबाट भारत जान चाहने नेपालीहरुका लागि सहजीकरण गर्दै आइ रहेको छ ।

सशस्त्र प्रहरीको चेक पोष्टले दिएको जानकारीमा केही दिनयता भारतबाट नेपाल प्रवेश गर्ने संख्यामा केही कमी आएको छ । चेक पोष्टमा तापक्रम कडाईका साथ चेक गर्न थालिएको छ ।जिल्ला बाहिर जानेको तथ्यांक अपडेट गरी पठाउने गरिएको चेक पोष्टका इञ्चार्ज सशस्त्र प्रहरी नायब निरीक्षक नारायण गौतमले जनाकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो ७ दिनमा ३ हजारबढी झापा जिल्ला बाहिरका नागरिक प्रवेश गरेका छन् ।

नेपाल प्रवेश गर्ने भारतीयहरुको सहजीकरण नेपाल प्रहरीले गर्दै आइरहेको छ । दैनिक एक हजारको हाराहारीमा भारतीयहरु नेपाल प्रवेश गर्ने गरेका छन् । जसमा आँखा उपचारमा आउने नागरिक, आफन्त भेटघाट गर्न आउनेदेखि दैनिक ज्याला मजदुरीमा आउने भारतीय कामदारहरु समावेश छन् ।इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रहरी नायब उपरीक्षक सुनिल दाहालले पछिल्लो दिनमा सीमा नाकाबाट आवतजावत गर्नेको संख्या ५० प्रतिशतले घटेको बताउनुभयो ।

गृह मन्त्रालयको पछिल्लो निर्देशन, जिल्लामा बसेको जिल्ला कोभिड १९ नियन्त्रण, व्यवस्थापन समितिको निणर्य र नगरपालिकाको सर्कुलरका कारण नाकाको सुरक्षा चेक जाँचमा कडाइ गरिएको दाहालले बताउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button