एकैदिन १० हजार बढी भक्तजनले गरे छिम्केश्वरी दर्शन

तनहुँ । पछिल्लो समय कोरोना भाईरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै केहि दिन अघि जिल्ला प्रशासन कार्यालय तनहुँ तथा स्थानीय निकाय आँबुखैरेनी गाउँपालिका समेतले भीडभाड नगर्न सूचना जारी गरेको थियो । तर हरेक वर्ष फागु पूर्णीमा (होली)को दिन भव्य मेला लाग्ने जिल्लाकै सबैभन्दा अग्लो स्थानमा रहेको प्रमुख धार्मिक पर्यटकिय स्थल छिम्केश्वरीमा उल्लेख्य मात्रामा भक्तजन आए ।
समुन्द्री सतहबाट करिब २ हजार १३४ मिटर उचाईमा रहेको छिम्केश्वरी माविशेषगरी फागुपूर्णिमाका दिन भक्तजनहरु पूजाअर्चनाका लागि पुग्ने गर्दछन् । मन्दिरमा तनहुँका अतिरिक्त गोरखा, लमजुङ, चितवन, नवलपरासी, धादिङ लगायतका जिल्लाबाट भक्तजनहरु छिम्केश्वरीमाईको पूजाअर्चनाका लागि पुग्ने गर्दछन् ।
गत वर्ष कोरोना भाईरसको संक्रमण फैलिएको कारण पूर्ण निषेध गरेको थियो । यसवर्ष पनि कोरोना संक्रमण त्रासका कारण तनहुँ प्रशासनले भिडभाड नगर्न सूचना जारी गरेको थियो। तर प्रशासनको सूचना बाबजुत पनि आईतबार फागु पूणीमाको दिन छिम्केश्वरी माईको मन्दिरमा पूजाआजाको लागि १० हजार भन्दा बढि भक्तजन आएको स्थानीय देविलाल गुरुङले जानकारी दिनुभयो । यद्यपी पहिलेको तुलानामा भने भक्तजनहरु कमै आएको उहाँले बताउनुभयो ।
आँबुखैरेनी गाउँपालिकाको वडा नं. ५ मा रहेको छिम्केश्वरीमाईको मन्दिरमा पूजाअर्चना गरे मनले चिताएको पूरा हुने विश्वास सहित भक्तजनहरु आउने गर्दछन् । प्रशासनको निर्देशन तथा कोरोना भाइरस संक्रमण त्रासका बीच पनि बिहानैदेखि भक्तजनको भीड लागेको र मन्दिर दर्शनका लागि करिब एक घण्टा भन्दा बढी समय भक्तजनहरु लाइनमा परेको थियो ।
फागुपूर्णिमा पर्वका दिन छिम्केश्वरीमाई र बुढीमाईको दर्शन गर्न भक्तजन पुग्ने गर्दछन् । आँवुखैरेनी बजारबाट छिम्केश्वरीको फेदी लाब्दीसम्म सवारी साधानमा त्यसपछि करिब आधाघण्टा उकालो सिढिको पैदल यात्रा गर्नुपर्दछ । मन्दिरमा एकादशी र औंशी तिथि बाहेकका अन्य दिनमा पूजाअर्चन हुने र यस दिन मन्दिरमा बलि दिने परम्परा पनि रहेको छ ।
गोरखा मनकामनाकी दिदीका रुपमा पुजिदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाअर्चना गरेपछि मनले चिताएको पुग्ने जनविश्वास रहेको मन्दिरका पुजारी धनराज गुरुङ बताउँनुहुन्छ ।
यस्तै, गोरखाको मनकामना मन्दिरमा गएपछि छिम्केश्वरीमाईको दर्शन गरेमात्र मनोकांक्षा पुरा हुने जनविश्वास रहि आएको पुजारी गुरुङ बताउँनुहुन्छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखाकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णमाई र कान्छी अकलामाई रहेको बताइन्छ ।








प्रतिक्रिया राख्नुहोस्