तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा ७६ बर्थिङ सेन्टर, संस्थागत प्रसूति हुने ७५ प्रतिशत

अछाम । अछाम जिल्लामा प्रसूति केन्द्र अर्थात् बर्थिङ् सेन्टरको सङ्ख्या ७६ पुगेको छ । जिल्ला अस्पताल र व्यालपाटा अस्पतालमा बृहत् आकस्मिक प्रसूति केन्द्र सहित पछिल्लो पटक जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोटको कुयडामा बर्थिङ सेन्टर स्थापना गरिएसँगै जिल्लामा बर्थिङ सेन्टरको सङ्ख्या ७६ पुगेको हो ।

अछाममा दुई वटा शल्यक्रिया सेवा सहितको बृहत् आकस्मिक प्रसूति केन्द्र र ७४ वटा बर्थिङ सेन्टर रहेका जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।

मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोट कुयडामा शुभारम्भ गरिएको बर्थिङ सेन्टरको गाउँपालिकाका अध्यक्ष लोक बहादुर बोहराले उद्घाटन गर्नुहुँदै राज्यको नीति अनुसार जनताको आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितताका लागि स्वास्थ्य सेवा विस्तार तथा व्यवस्थित गर्दै गएको बताउनुभयो ।

अध्यक्ष बोहराले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउन लागिरहेको बताउनुभयो ।

अब कुयडाबासी र आसपासको क्षेत्रका स्थानीयको स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यता हटेको भन्दै बर्थिङ सेन्टर र स्वास्थ्य चौकीका लागि आवश्यक स्वास्थ्य सामग्री  पूर्वाधार विकास, जनशक्ति व्यवस्थापनका गाउँपालिकाबाटै पहल गरिने बताउनुभयो ।

गाउँपालिकाका विकट क्षेत्र कुयडामा बर्थिङ सेन्टरको स्थापना भएको भन्दै अब सबै गर्भवती महिलालाई स्वास्थ्य संस्थामै आएर सुत्केरी हुन गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक वीर बहादुर ठकुल्लाले आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button