जनकपुरधामको अन्तर गृह परिक्रमा सँगै १५ दिने मध्यमा मिथिला परिक्रमा सम्पन्न
जनकपुरधाम । १५ दिने मध्यमा मिथिला परिक्रमाका तीर्थ यात्रीसहित लाखौँ तीर्थयात्रीहरू आज जनकपुरधामको अन्तर गृह परिक्रम गरेका छन् ।
अबेर राति १ बजेदेखि नै परिक्रमाका तीर्थ यात्रीहरू जनकपुरधामको पञ्चकोशी अन्तर गृह परिक्रमा गरेका थिए ।
यस पटक अन्तर गृह परिक्रममा १५ लाख तीर्थ यात्रीहरू सहभागी भएको पर्यावरण संरक्षण अभियन्ता सुरेश शर्माले जानकारी दिनु भएको छ ।
बिहानदेखि दिउँसो ११ बजेसम्म अत्यधिक मात्रामा परिक्रमामा तीर्थ यात्रीहरू सहभागी भएका थिए भने त्यसपछि दिनभरि फाटफुट रुपमा परिक्रमामा तीर्थ यात्रीहरू सहभागी भएका थिए ।
१५ दिने मध्यमा मिथिला परिक्रमाका तीर्थयात्रीहरू अनिवार्य रुपमा अन्तर गृह परिक्रमा गर्नु पर्ने भएकाले अन्तर गृह परिक्रमामा सहभागी भएर आ–आफ्नो गन्तव्य तीर प्रस्थान गरेका छन् ।

नेपाल भारतको हजाराँै तीर्थ यात्रीहरू १५ दिवसीय परिक्रमामा सहभागी भएका थिए ।
जनकपुरधामको चारै तीर रहेको प्राचीन शिव मन्दिरहरूको परिक्रमा गर्ने गरी नेपालको १ सय ७ किलो मिटर तथा भारतको २६ किलोमिटर गरेर १ सय ३३ किलोमिटरको दूरी खाली खुट्टा मिथिला विहारी अर्थात् भगवान् राम तथा किशोरी जी अर्थात् माता जानकीको डोलासँगै भगवानको जयजयकार गर्दै हिँडेर शनिबार साँझ जनकपुरधाम आइपुगेका थिए ।
फाल्गुण शुक्ल पक्ष प्रतिपदाबाट सुरु भएर पूर्णिमासम्म चल्ने मिथिला मध्यमा परिक्रमाका तीर्थयात्रीहरू घर फर्किसकेपछि मात्र तराई मधेसका जिल्लाहरूमा भोलि होली पर्व मनाइने चलन रहेको छ ।
परिक्रमामा अत्यधिक भिड भए पनि परिक्रमाका तीर्थ यात्रीहरू सुरक्षा सावधानीसहित अन्तर गृह परिक्रमामा सहभागी भएका थिए ।

परिक्रमा मार्गमा विभिन्न सामाजिक सङ्घ संस्थाहरूले विभिन्न प्रकारको निःशुल्क भोजन, पेय पदार्थ, नास्ता तथा सर्बत, निःशुल्क औषधि सहितको उपचार गर्ने जस्ता शिविरको आयोजना गरेका थिए ।
मिथिला महात्ममा ३ प्रकारको परिक्रमाको कुरा उल्लेख रहेको छ । बृहत्, मध्यमा तथा अन्तर गृह परिक्रमाको कुरा उल्लेख रहेको छ । जसमा अन्तर गृह तथा मध्यमा मिथिला परिक्रमा प्रत्येक वर्ष हुने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्