बेवारिसे अवस्थामा शव फेला
भद्रपुर, झापा । झापाको विर्तामोड–१ दुर्गाटोलमा बेवारिसे अवस्थामा शव फेला परेको छ ।
प्रहरीका अनुसार पूर्णरुपमा सडिएको अवस्थामा शव फेला परेको हो ।
खाली रहेको कुखुरा फर्मभित्र झुलले बेरिएको अवस्थामा हिजो बेलुका शव फेला परेको बताइएको छ ।
शवको प्रकृति हेर्दा पाँच दिनभन्दा अघि मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
पूरै सडिएका कारण शवको पहिचान गर्न नसकिएको र पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
यसैबीच, झापाको भद्रपुरमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
मेची आँखा उपचार केन्द्रमा शनिबार आँखाको उपचार गरी घर फर्किएका भारत विहार निवासी ६८ वर्षीय फजुल हकको मेची पूलपारि नेपालको भूभागमा मृत्यु भएको हो ।
सिटीमा चढी भद्रपुर ५ स्थित मेची पूल कट्नासाथ अकस्मात उल्टी गरेपछि हकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी लामो समयदेखि दमको बिरामी रहेको उनका छोरा अकबर अलिले जनाएका छन् ।
आवश्यक प्रक्रिया पूरा गरी शव छोरा अकबरलाई जिम्मा लगाइएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी नरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्