भद्रपुर मेयर कप वडा स्तरीय कबड्डीको उपाधि वडा नं. ८ र ५ लाई
झापा । झापाको भद्रपुरमा जारी प्रथम मेयर कप वडा स्तरीय नकआउट कबड्डी प्रतियोगिताअन्तर्गत पुरुषतर्फको उपाधि वडा नं ८ ले र महिलातर्फको उपाधि वडा नंं ५ ले जितेको छ ।
मेची रङ्गशालाको कभर्डहलमा भएको पहिलो खेलमा पुरुषतर्फ वडा नं ८ ले वडा नं ६ लाई ५ अङ्कले पराजित गर्यो । निर्धारित समयमा वडा नं ८ ले ६६ अङ्क जोड्दा वडा नं ६ ले ६१ अङ्क मात्र जोड्न सक्यो । मध्यान्तरअघि अग्रता लिएको वडा नं ६ ले मध्यान्तरपछि लय गुमाउँदा अग्रता कायम राख्न सकेन ।
यसैगरी, महिलातर्फ महिलातर्फ वडा नं ५ ले उपाधिमा कब्जा जमायो । वडा नं ५ वडा नं ९ लाई १३ अङ्कले पछि पार्दै विजेता बनेको हो । वडा नं ५ ले ७१ अङ्क जोड्दा वडा नं ९ ले ५८ अङ्क मात्र प्राप्त गर्न सक्यो ।
विजेता टिम तथा खेलाडीलाई समापन समारोहका प्रमुख अतिथि १ नं प्रदेशसभा सदस्य वसन्त बानियाँ नगरप्रमुख जीवनकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका प्रहरी उपरीक्षक रमेशनाथ पाण्डे लगायतले विजेता टिम तथा खेलाडीलाई नगद पुरस्कार, शील्ड तथा मेडल प्रदान गर्नुभयो ।
जीतसँगै पुरुषतर्फको विजेता वडा नं ८ ले रु. २० हजार नगद, शील्ड तथा मेडल प्राप्त गरेको छ भने उपविजेता वडा नं ६ ले १० हजार नगद, शील्ड तथा मेडल प्राप्त गरेको छ ।
महिलातर्फको विजेता वडा नं ८ ले पनि २० हजार नगदसहित शील्ड तथा मेडल प्राप्त गरेको छ भने वडा नं ९ ले १० हजार नगदसहित शील्ड तथा मेडल प्राप्त गरेको छ ।
तेस्रो स्थानमा पुरुषतर्फ वडा नं ७ र महिलातर्फ वडा नं ५ ले नगद ५ हजार पुरस्कार प्राप्त गरेको कबड्डीका पूर्व राष्ट्रिय खेलाडी एवम् प्रशिक्षक रतिया राजवंशीले जानकारी दिनुभयो ।
ओझेलमा पर्दै गएको कबड्डी खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र यसबाट नगर स्तरीय सशक्त टिम निर्माण गरिने खेलकुद समितिका संयोजक श्यामकुमार राउतले जानकारी दिनुभयो ।
प्रतियोगितामा महिला खेलाडीका लागि ७५ केजी र पुरुष खेलाडीका लागि ८० केजी सम्मको तौल निर्धारण गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्