‘वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्नु आवश्यक’
काठमाडौँ । नेपाल सरकारका महान्यायाधिवक्ता रमेश बडालले बैङ्किङ प्रणालीमा देखिएका कसुरलाई नियन्त्रण गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्नु आवश्यक भएको बताउनुभएको छ ।
नपाल राष्ट्र बैङ्क, कानून महाशाखाले आयोजना गरेको ‘बैङ्किङ कसुरको अनुसन्धान, अभियोजन तथा बैङ्किङ सुपरिवेक्षण’ विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले बैङ्किङ प्रणालीमा देखिएका कसुरलाई नियन्त्रण गर्न राष्ट्र बैङ्क, सरकारी वकिल र नेपाल प्रहरीबिच प्रभावकारी समन्वय एवम् सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले बैङ्किङ कसुरका क्षेत्रमा पछिल्लो समयमा कसुरका नयाँ प्रवृत्तिले चुनौती थपेकोले कानुनी व्यवस्थामा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
डेपुटी गभर्नर बमबहादुर मिश्रले बैङ्किङ कसुरका विद्यमान कानुनी व्यवस्थामा सुधार गर्दै तीन वटै निकायबिच समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले तीन वटै निकायको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै बैङ्किङ कसुर नियन्त्रणमा उपलब्धि हासिल हुन सक्ने बताउनुभयो ।
कार्यक्रममा बैङ्किङ कसुरसम्बन्धी बैङ्क तथा वित्तीय संस्थाका सुपरिवेक्षण, कसुरका जाहेरी,अनुसन्धान, अभियोजन प्रक्रियाका विषयमा सहभागीहरूबिच विस्तृत छलफल भएको नेपाल राष्ट्र बैकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्