तपाईँ सुन्दै हुनुहुन्छः

पाँचपोखरीमा स्थानीय पाठ्यपुस्तक लेखन कार्यशाला सुरु

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको स्थानीय पाठ्यपुस्तक लेखनसम्बन्धी तीन दिने कार्यशाला मानेखर्कमा सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष टासी लामाले शनिबार कार्यशालाको उद्घाटन गर्नुभएको हो ।

कक्षा २, ३ र ६ को स्थानीय पाठ्यपुस्तक तयार पारी प्रकाशन गर्नका लागि कार्यशाला आयोजना गरिएको वडा नम्बर ३ का अध्यक्ष ङिमछिरिङ तामाङले जानकारी दिनुभयो । यसअघि गाउँपालिकाले कक्षा १ को स्थानीय पाठ्यपुस्तक प्रकाशन गरिसकेको छ ।

कार्यशालामा राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख बाबुराम ढुङ्गाना, शिक्षाविद् बौद्धराज निरौलाले सहजीकरण गरिरहनुभएको छ । कार्यशालामा पालिकाका शिक्षकहरू सहभागी छन् । नेपालको हालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनमा स्थानीय तहमा अधिकार प्रत्यायोजन गरिसकेको छ ।

स्थानीय पाठ्यपुस्तकमा यस क्षेत्रका प्राथमिकताका विषय र स्थानीय स्तरका भाषा, संस्कृति एवम् ऐतिहासिक कुराहरू समावेश हुने गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button