तपाईँ सुन्दै हुनुहुन्छः

अछामका विभिन्न विद्यालयमा प्रहरी विद्यालय सम्पर्क कार्यक्रम

अछाम। अछाम प्रहरीले जिल्लाका विभिन्न ठाउँमा प्रहरी -विद्यालय सम्पर्क कार्यक्रम गरिरहेकाे छ । विद्यार्थी, अभिभावक, शिक्षक लगायतलाई विभिन्न कानुनी प्रावधानबारे जानकारी दिन कार्यक्रम भैरहेकाे अछामका प्रहरी प्रमुख डिएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
शुक्रबार जिल्लाको चाैरपाटी गाउँपालिका वडा नम्बर ६ दुनिमा रहेकाे देविमाण्डु माध्यमिक विद्यालयमा प्रहरी विद्यालय सम्पर्क कार्यक्रम गरि साईबर कानुन, घरेलु हिंसा, ट्राफिक नियम लगायतका विषयमा जानकारी गराईएको छ ।

जिल्ला प्रहरी कार्यलय अछाम र प्रहरी चौकी चौखुट्टेको आयोजनामा विद्यालयका प्रधानाध्यापक झंकर बहादुर खड्काको अध्यक्षता तथा वडा अध्यक्ष मने साउदको प्रमुख आथित्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका अधिकारीकाे सहभागिता रहेको थियाे ।

तालिम केन्द्रका समादेशक मुकेश कुमार सिंह, सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी योगेन्द्र सिंह थापा, प्रहरी नायव उपरीक्षक द्वारीका प्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अर्याल लगायतले कानुनी प्रावधानका बारेमा जानकारी गराउनु भएको थियाे ।विद्यालयमा अध्यनरत विद्यार्थीहरु, अभिभावकहरु र सरोकारवाला निकायहरुको उपस्थितिमा साईबर क्राइम सम्बन्धी विस्तृत जानकारी तथा अन्य कानुन प्रावधानबारे जानकारी गराईएकाे थियाे ।

प्रहरीले जिल्लाका विभिन्न विद्यालयमा कार्यक्रम गरि कानुनी जानकारी तथा अपराध नियन्त्रणबारे सचेतना फैलाईरहेकाे अछाम प्रहरी प्रमुख डिएसपी अर्यालले जानकारी दिनुभयाे । अछाम प्रहरीले जिल्लाका विभिन्न ठाउँमा हाेर्डिङ् बाेर्ड मार्फत पनि जनचेतना जगाउने कार्य गरिररहेकाे छ । साईबर कानून, ट्राफिक नियम, लैंगिक तथा घरेलु हिंसा, अपराध न्यूनीकरण लगायतका विषयमा हाेर्डिङ बाेर्ड मार्फत जानकारी गराउने कार्य भैरहेकाे प्रहरीले जनाएको छ ।

केही समय पहिले सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी उत्तमकुमार सुवेदी सहितको टाेलीले पनि जिल्लाका सराेकारवालासंग छलफल गर्दै जनकल्याण मावि साँफेबगर र जाल्पादेवि मावि ढाँकुमा विद्यार्थी, शिक्षक, अभिभावकसंग अन्तरक्रिया गरि विभिन्न कानुन प्रावधानबारे जानकारी गराईएकाे थियाे ।

चालु आर्थिक बर्षमा अछाम प्रहरीले जिल्लाका करिब ३ दर्जन विद्यालयमा प्रहरी विद्यालय कार्यक्रम गरिसकेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button