गाउँ घरमा चिकित्सक कार्यक्रम : बझाङका दुर्गम गाउँमा स्वास्थ्य शिविर

बझाङ । जिल्ला अस्पताल बझाङको डाक्टरसहितको स्वास्थ्यकर्मीहरूको टोलीले जिल्लाका दुर्गम गाउँहरूमा गएर सेवा दिन थालेका छन् । जिल्लाका १२ वटा स्थानीय तहहरूका दुर्गम गाउँहरूमा गएर टोलीले स्वास्थ्य सेवा प्रवाह गरी रहेको हो ।
गाउँ घरमा चिकित्सक कार्यक्रम अन्तर्गत बिहीबार सुर्मा गाउँपालिका १ मा रहेको दुर्गम गाउँ पुदालीमा सेवा दिएको छ । दुई जना डाक्टर सहितको टोलीले ग्रामीण भेगमा बसोबास गर्ने विपन्न वर्गहरूलाई लक्षित गरी सेवा प्रवाह गरी रहेका छन् । टोलीले निःशुल्क रुपमा ओपिडी सेवा , प्रयोगशाला सेवा , भिडियो एक्स-रे सेवा , महिलाको पाठे घर सम्बन्धी सेवा , ई सिजी सेवा ,फार्मेसी सेवा र यौन रोग सम्बन्धी सेवाहरू गाउँमा गएर दिँदै आएको जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दिप ओखेडाले बताउनुभयो । उहाँले जिल्लाको १२ वटा पालिकाको अति दुर्गम गाउँमा गएर स्वास्थ्य शिविरका रुपमा उपचार गर्दै आएको समेत बताउनुभयो ।
गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीयहरू निकै खुसी भएका छन् । सुर्मा गाउँपालिका १ का जय बहादुर बोहराले भन्नुभयो, ‘यसरी हामीले गाउँमा आएर सबै सेवा पाउने आशा गरेका थिएनौ तर यहाँ त सबै सुविधा गाउँमै दिने रहेछ । वर्षौँदेखि पेटको समस्या थियो , पैसा नहुँदा अस्पतालसम्म जान सकेको थिएन,यो धेरै राम्रो काम गर्यो जिल्ला अस्पतालले’ बोहरा मात्र होइन्न सुर्मा गाउँपालिकाका अन्य शिविरमा सहभागीहरूको भनाई पनि उस्तै रहेको छ ।
गाउँपालिका अध्यक्ष नर बहादुर बोहराले भन्नुभयो, सधैँ गाउँपालिकाको केन्द्रमा मात्र शिविर आउने हुँदा यो पटक भने दुर्गम गाउँका विपन्न समुदायलाई लक्षित गरी यो कार्यक्रमको छनौट गरेको हो । उहाँले स्वास्थ्य नै सबै भन्दा महत्त्वपूर्ण कुरा भएकाले सबैलाई शिविरमा आएर उपचार गराउन आग्रह समेत गर्नुभयो । गाउँपालिका प्रवक्ता समेत रहेका वडा नं १ का वडा अध्यक्ष पुष्कल बोहराले गाउँमा यसरी औषधी सहितको टोली आएर घरमा उपचार गराउन पाउनु यहाँका जनताका लागी खुसीको कुरा भएकाले सबैले आएर सहभागी हुनु पर्नेमा जोड दिनुभयो । उहाँले दुर्गम गाउँमा विशेषज्ञ सहितको सेवाले ग्रामीण भेगमा बस्ने समुदायका जनताहरूको घरमै गएर स्वास्थ्य परीक्षण गराउन पाउँदा आफ्नो पनि ठुलो उपलब्धि भएको समेत बताउनुभयो ।
शिविरमा २ सय १८ जनाले सेवा लिएका छन् । जसमा ७१ जनाले भिडियो एक्स-रे, ३४ जनाले डेन्टल सेवा, ४६ जना महिलाले पाठेघरको मुखको क्यान्सर सम्बन्धी सेवा, ३४ जनाले प्रयोगशाला, र २ जनाले इम्प्लान्ट लगाएको, जिल्ला अस्पताल सिमखेतका डा.देबराज रतालाले जानकारी दिनुभएको छ । शिविरमा जिल्ला अस्पताल सिमखेतबाट ९ जना डाक्टरको टोली खटिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्