बागमती प्रदेश समन्वय परिषद्को तेस्रो बैठक सम्पन्न,

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल निर्माणका लागि तीनै तहका सरकारबिच आपसी सहयोग र सहकार्य जरुरी रहेको बताउनु भएको छ । बागमती प्रदेश समन्वय परिषद्को तेस्रो बैठकलाई बिहीबार हेटौँडामा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले समृद्धिका लागि संविधानको मर्म अनुसार तीनै तहका सरकारबिच आपसी समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले राज्य सङ्घीय व्यवस्थामा गइसकेकोले तीन वटै सरकारले आपसी सहयोग र सहकार्य गर्दै कार्य गर्नुपर्ने बताउनुभयो । केन्द्र, प्रदेश र स्थानीय सरकारले एक आपसमा सहयोग र सहकार्य गर्दै कार्य गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई मूर्तरूप दिन समेत तीन वटै सरकारको भूमिका ज्यादै महत्त्वपूर्ण रहेको बताउनुभयो । केन्द्र, प्रदेश र स्थानीय सरकार बिच केही विषयहरूमा मतभेद रहेता पनि तिन वटै सरकारको उद्देश्य, लक्ष्य र कार्य एउटै भएकोले सहयोग र सहकार्य गर्दै अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।
बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले तीन तहका सरकारबिचमा राम्रो समन्वयको व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले समग्र विकासको अवधारणा अनुसार काम गरिरहेको भए पनि गरेका कामको प्रचार प्रसार गर्न जरुरी हरेको बताउनुभयो । भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाललले सरकारले गरेका कामको जनतासम्म पु¥याउँदै तीनै तहबीचमा समन्वय गरेर अगाडी बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सरकारले गरेको कामको प्रतिफल जनताले अनुभूति गर्न थालेको बताउनुभयो । उहाँले सबैको प्रहल तथा प्रयत्नबाट समृद्ध नेपाल निर्माण हुने हुँदा सबैको अपनत्व हुने खालका काम गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिक्षा, स्वास्थ्य र व्यावसायिक कृषि प्रदेश सरकारको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले ठुला र स्थानीय सरकारले साना योजनामा काम गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले ठुला र देखिने खाल प्रकृतिका कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले एकिकृत एन बन्नुपर्ने तथा तीनै तहका सरकारले सामाजिक क्षेत्रमा ध्यान दिन सके मात्र समृद्ध र समुन्नत नेपाल निर्माण हुने हुँदा त्यस तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
बैठकले बागमती प्रदेश समन्वय परिषद्को बैठकको कार्यविधि पेश र पारित गर्नुका साथै परिषद्को पहिलो र दोस्रो बैठकका निर्णय कार्यान्वयनको समीक्षा गरिएको थियो । यस्तै बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगका अध्यक्ष बालानन्द पौडेलले वित्तीय सङ्घीयताको बारेमा प्रस्तुति गर्नुभएको थियो । भने, प्रदेश सरकारबाट सम्पादन भएका मुख्य कार्यहरूको प्रगतिका बारेमा प्रदेश सचिव राधिका अर्याल र प्रदेश र स्थानीय तहबिच समन्वय र अन्तरसम्बन्ध कायम गर्नुपर्ने विषयमा आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्रस्तुतीकरण गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्