सिमानामा थप सुरक्षा सतर्कता अपनाउने प्रदेश सुरक्षा समितिको निर्णय
जनकपुरधाम । विगत केही दिन देखि प्रदेश नंं २ को विभिन्न जिल्लाहरूमा पुनः कोरोनाका संक्रमण देखिएकाले प्रदेश सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा थप सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ ।
प्रदेश नंं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको अध्यक्षतामा बसेको बैठकले छिमेकी मित्र राष्ट्र भारतको विभिन्न प्रदेशहरूमा कोरोनाका महामारी फैलिरहेकाले थप सुरक्षा सावधानी अपनाउन आवश्यक रहेको महसुस गर्दै प्रवेश विन्दुमा सुरक्षा सावधानी अपनाउने निर्णय गरेको छ ।
यसै गरी आउन लागेको होली पर्व संयमपूर्वक भिडभाड नगरेर आ–आफ्नो घरमा मात्र मनाउनका लागि सम्पूर्ण जिल्ला प्रशासन कार्यालयहरूमा परिपत्र गर्नका लागि निर्देशन दिने निर्णय गरेको छ ।
यसै गरी सिरा जिल्लाको मालपोत कार्यालयमा भएको बम विस्फोटको आकलन गर्दै प्रदेश भरिको कार्यालयहरूमा थप सुरक्षा सावधानी अपनाउने निर्णय भएको छ ।
यसै गरी कोरोनाका महामारी फैलिन थालेकाले क्वारेनटाइन तथा आईसोलेसनहरुलाई पनि तयारी अवस्थामा राख्नका लागि सामाजिक विकास मन्त्रालयसँग सहकार्य गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो । बैठकमा चारै सुरक्षा अङ्गका प्रदेश प्रमुख सहितका अधिकारीहरू उपस्थित रहनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्