तपाईँ सुन्दै हुनुहुन्छः

छात्राहरूले विद्यालय छाडने प्रवृत्तिलाई रोक्न अभिभावकको भूमिका महत्त्वपूर्ण : राज्यमन्त्री यादव

वीरगंज । प्रदेश २ का अर्थ राज्यमन्त्री उषा यादवले छात्राहरूले विद्यालय छाडने प्रवृत्तिलाई रोक्न अभिभावकको भूमिका महत्त्वपूर्ण हुने बताउनु भएको छ ।

शिक्षा पत्रकार समाज र असमान नेपालको संयुक्त आयोजनमा वीरगंजमा सम्पन्न बहिनी शिक्षाको लागि दिदी कार्यक्रमको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री यादवले विगतमा समाज र राज्य समेत बालिका शिक्षाका लागि अवरोधकको रुपमा रहेको आरोप लगाउनु भयो ।

उहाँले सरकारले बालिकाको सुरक्षा प्रत्याभूति गर्न सकेन र समाजले पढ्नका लागि छोरीलाई उत्प्रेरित गर्न सकेन भन्नुभयो । तर अहिले छोरीहरूले राम्रो सँग पढ्न पाएको र उनीहरूमा प्रतिस्पर्धात्मक क्षमता पनि वृद्धि हुँदै गएकोमा खुशी व्यक्त गर्नुभयो ।

राज्यमन्त्री यादवले छोरीको प्रतिभालाई फुल्न दिन उचित वातावरण बनाउन अभिभावकलाई अपिल गर्नु हुँदै परिवर्तन क्रमिक रुपमा हुँदै जाने बताउनुभयो ।

समाजमा छोरीका विरुद्ध हुने हिंसाका घटनालाई समाज र प्रतिष्ठाको नाममा मिलाउने पुरानो चलन फेर्नु पर्ने र अपराधीलाई कानुनको दायरमा लैजाने कुरामा सामाजिक अगुवाहरूले पहल लिनु पर्ने बेला आएको राज्यमन्त्री यादवले बताउनुभयो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावार्गीले दिदी बहिनी शिक्षाले बालिकामा सबलीकरण बढेको र त्यसको लाभ समाजले लिएको बताउनु भयो । उहाँले छोरी शिक्षित र सशक्त हुँदै जाँदा समाजमा अपराध पनि कम भएको बताउनुभयो ।

शिक्षा पत्रकार समाजका केन्द्रीय अध्यक्ष प्रकाश सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आसमान नेपालका मुनीलाल बैठा, राम बहादुर चौधरी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button