तपाईँ सुन्दै हुनुहुन्छः

हुम्लाको सल्लीसल्लामा गाडी पुग्यो, पञ्चेबाजा सहित स्वागत

जुम्ला । हुम्लाको सल्लीसल्लामा पहिलो पटक गाडी पुग्दा स्थानीयले बाजागाजा सहित भव्य स्वागत गरेका छन् । नेपाली सेनाले कर्णाली करिडोरको कडा चट्टान फोड्दै निर्माण शुरु गरेको ६ वर्षमा हुम्लाको सल्लीसल्ला सम्मको १ सय २२ किमी सडक निर्माण गरेर सकिएपछि पहिलो पटक सल्लीसल्लासम्म यात्रुबाहक बस पुगेको हो । कर्णालीको लाइफलाइन अर्थात् जीवन रेखाका रुपमा हेरिएको कर्णाली करिडोरको विकासले गति लिएपछि वर्षौँपछि हुम्लामा गाडी पुगेको छ ।
नेपाली सेनाले कालिकोटको हुल्म, बाजुरा हुदैं हुम्लाको सल्लीसल्ला सडक सम्म ट्र्याक खोलेपछि हुम्ला जिल्लामा पहिलो पटक यात्रु बस चंखेलीको सल्लीसल्ला पुगेको चंखेली गाउँपालिका– ४ का दन्तबहादुर शाहीले बताउनुभयो ।
उहाँका अनुसार कर्णाली करिडोरको निर्माण पश्चात् पहिलो पटक कर्णाली प्रदेश ००१ ख ०४०२ को बस हुम्लाको चंखेली गाउँपालिकाको सल्लीसल्ला पुगेको हो । कर्णाली करिडोरको प्रवेशद्वार कालिकोटको जितेमा पुल नहुँदा अछामको मङ्गलसेन हुँदै हुम्लामा गाडी पुर्‍याएको छ ।
सुर्खेतबाट हिँडेको दुई दिनमा यात्रुवाहक बस हुम्लाको अदा नचुली गाउँपालिकामा पुगेको स्थानीय शाहीले जानकारी दिनुभयो । हुम्लाको चंखेलीमा पहिलो पटक यात्रुवाहक बस पुगेपछि स्थानीयले पञ्चे बाजागाजा सहित भव्य स्वागत गरेको हुम्लाका पत्रकार नरङ तामाङले जानकारी दिनुभयो ।
गत हप्ता मात्रै प्रधानमन्त्री सचिवालयका विकास विज्ञसहितको उच्च स्तरीय टोलीले कर्णाली करिडोरको सल्लीसल्ला सम्मको १ सय २२ किमी सडक स्थलगत अनुगमन गर्नु भएको थियो ।
अनुगमनका क्रममा विज्ञ थपलियाले अबको केही दिन महिनापछि गाडी कर्णाली करिडोर हुँदै सल्लीसल्ला पुग्ने र उङ्ली नागरिकको पनि सडक सपना पुरा हुने बताउनु भएको थियो । अब चाडै करिडोरको स्तर वृद्धि भएर सहज यात्रा हुने आशामा उङ्ली नागरिक रहेको हुम्लामा पत्रकार तामाङले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button